काठमाडौं– लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ। यसअघि सन् २०१९ को डिसेम्बरमा नेपथ्यले आफ्नो श्रृंखलावद्ध प्रस्तुतिसहित अष्ट्रेलियाको ६ सहरको सांगीतिक यात्रा गरेको थियो।
नेपथ्य ' म्युजिक फर ह्युम्यानिटी' अस्ट्रेलिया टुर २०२३ नाम दिइएको यो सांगीतिक यात्रा जनुअरी २५ मा डार्बिन स्थित ‘इन्टरटेनमेन्ट सेन्टर’ बाट प्रारम्भ हुने छ।
त्यसपछि जनवरी २८ तारिखमा एडिलेडस्थित ‘हिण्डले म्यूजिक हल’मा र जनवरी ३१ मा ब्रिसबेनको ‘फोर्टिच्यूड म्यूजिक हल’ मा सम्पन्न भएसंगै चौथो प्रस्तुतीको लागि अष्ट्रेलियाकै केन्द्रीय राजधानी क्यानबेरामा पुग्नेछ। फेब्रुअरी ३ तारिख शुक्रबारका दिन त्यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा ब्याण्डले प्रस्तुति दिनेछ।
यसअघि पाँचपटक अष्ट्रेलियाको भ्रमण गरिसकेको ब्याण्डका लागि राजधानी क्यानबेरामा भने यो पहिलो अनुभव हुनेछ।
पाँचौ कन्सर्टका लागि ब्याण्ड ‘वेस्टर्न अष्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुग्नेछ। फेब्रुअरी ५ तारिख आइतबारका दिन ब्याण्डले त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा आफूलाई उभ्याउनेछ।
त्यसपछिको नेपथ्यको यात्रा पृथ्वीको दक्षिणी गोलाद्र्धमै उसका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीको हुनेछ। अष्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवम् आर्थिक केन्द्र सिड्नीमा ब्याण्डले फेब्रुअरी १० तारिख शुक्रबारको दिन आफूलाई ‘होडर्न पभिलियन’मा प्रस्तुत गर्नेछ।
सिड्नी पछि नेपथ्यको यात्रा ‘भिक्टोरिया’ राज्यतर्फको हुनेछ। उक्त राज्यको राजधानी मेलबर्नमा ब्याण्डले १३ फेब्रुअरी सोमबारका दिन आफूलाई प्रस्तुत गर्नेछ। कन्सर्टका लागि त्यहाँस्थित ‘फोरम मेलबर्न’ हलको छनौट गरिएको छ। सो हल मेलबर्नकै केन्द्र मानिने फ्लिन्डर्स रेलवे स्टेशन नजिकै रहेको छ।
त्यसपछिको नेपथ्यको यात्रा अष्ट्रेलियाकै पुछारतर्फको हुनेछ। अष्ट्रेलियाको बेग्लै टापुमा बसेको राज्य तास्मानियामा अन्तिम कन्सर्टको निम्ति नेपथ्य पुग्नेछ। त्यस राज्यको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन नेपथ्यका लोकभाकाहरु घन्कने छन्।
नेपथ्यको अस्ट्रेलिया यात्राको लागि ६ जना संगीतकर्मीसहित प्राविधिक एवं व्यवस्थापन गरेर १३ सदस्यीय टोली आउँदो २० तारिक त्यसतर्फ प्रस्थान गर्दैछ। पूर्वनिर्धारित आठवटा कार्यक्रम प्रस्तुत गरेर फेब्रुवरीको २० तारिकमा सो टोली नेपाल फर्कने योजना रहेको छ।
अमृतलाई यो यात्रामा पनि सधैंजस्तै ड्रमसेटमा ध्रूव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गीतारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।