पोखरा– यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका यात्रु तथा चालक दलका सदस्यको शव परीक्षणको प्रक्रिया सुरु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव व्यवस्थापन तथा परीक्षण कार्य सुरु भएको हो।
प्रतिष्ठानका निर्देशक प्राडा भरत बहादुर खत्रीका अनुसार राष्ट्रिय शव परीक्षण समिति गठन भइ परीक्षण तथा व्यवस्थापनको काम अगाडि बढाइएको हो। शवको पहिचान तथा परीक्षणका लागि काठमाडौंबाट समेत २ जना फरेन्सिक विज्ञ पोखरा पुगेका छन्।
प्राडा खत्रीका अनुसार विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये प्रतिष्ठानमा ६८ जनाको शव ल्याइएको छ। अहिले शवहरुको पहिचान गर्ने काम भइरहेको खत्रीले जानकारी दिएका छन्।
शवको पहिचालन गरी पहिचान भएका शव र पहिचान नखुलेका शवलाई छुट्टा–छुट्टै राख्न थालिएको छ। शवहरुको पहिचान तथा पुष्टि गर्न प्रत्येक शवका लागि परिवारका सदस्य तथा आफन्तमध्ये २ जनाका दरले पहिचान स्थलमा प्रवेश गर्न अनुमति प्रदान गरिएको छ।
शवको पहिचान भएपछि क्रमसंख्याअनुसार शवको परीक्षण गरिनेछ, र पुन: पुष्टि गरी परिवारलाई हस्तान्तरण गरिनेछ।
चालक दलका सदस्यहरु, विदेशी नागरिक तथा पहिचान नखुलेका शवहरु पहिचालन परीक्षणका लागि काठमाडौं पठाइने प्रतिष्ठानका निर्देशक प्राडा खत्रीले जानकारी दिए।
प्रतिष्ठानले एक सूचना जारी गर्दै शव व्यवस्थापन कार्य सुरु भइसकेकाले उक्त कार्य सम्पन्न नभएसम्म दुर्घटनामा ज्यान गुमाएकाका परिवार, आफन्तजन तथा शुभचिन्तकहरुलाई धैर्यधारण गरी सहयोग गरिदिन अनुरोध गरेको छ।
यती एयरलाइन्सको ९एन–एएनसी एटीआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा रहेको सेती किनारमा दुर्घटनामा परेको थियो। आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको उक्त विमान उडान भरेको २२ मिनेटमै दुर्घटनामा परेको थियो।
पोखरा विमानस्थलमा अवतरणको लागि अनुमति पाएको र अवतरणको क्रममा रहेको सो विमान सेती नदीको खोँचमा खसेको थियो। विमानमा ७२ जना सवार थिए। जसमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए।
यात्रुहरुमा ५३ जना नेपाली थिए। बाँकी विदेशी थिए। विदेशी यात्रुहरुमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्डका १ जना, अस्ट्रेलियाका १ जना, अर्जेन्टिनाका १ जना, फ्रान्सका १ जना थिए। जसमा महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ जना थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।