काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद प्रकाशशरण महतले विमान दुर्घटना छानबिन समितिको निस्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताएका छन्।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाहरु पटकपटक दोहोरिरहेको भन्दै जाँचबुझका लागि गठन गरेको समितिले बुझाएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन्।
उनले समितिले बुझाएका प्रतिवेदनहरुको सही कार्यान्वयन हुन नसक्दा यस्ता घटनाहरुको पुनरावृत्ति भइरहेको उल्लेख गरे। प्रवक्ता महतले अहिलेसम्म भएका विमान दुर्घटना किन भए भन्ने जाँचबुझ समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।
महतले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनका आधारमा दुर्घटना दोहोरिन नदिन यथेष्ठ उपाय खोज्नुपर्ने बताए। जाँचबुझ समितिले बुझाएको प्रतिवेदनको कार्यान्वयन गरेर अघि नबढ्ने हो भने अन्तर्राष्ट्रिय जगतमा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिमयुक्त देश बन्ने सन्देश प्रवाह हुने चिन्ता व्यक्त गरे।
आइतबार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परी जहाजमा सवार सबैको निधन भएको छ। अझै केही शव भने खोज्ने क्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।