काठमाडौं– यती एयरलाइन्सको विमान दुर्घटनामा परेका यात्रुको (शव) पहिचानका लागि काठमाडौंबाट २ जना फरेन्सिक विज्ञ पोखरा पठाइएको छ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणका अनुसार दुर्घटनास्थलमा फेला परेको शवमध्ये अधिकांशको पहिचान हुन नसकेकाले फरेन्सिक विज्ञहरु पठाइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा गोपाल चौधरी र डा समारिका दाहाल पोखरा पठाइएको बताए।
यती एयरलाइन्सको ९एन–एएनसी एटीआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा रहेको सेती किनारमा दुर्घटनामा परेको थियो। आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको उक्त विमान उडान भरेको २२ मिनेटमै दुर्घटनामा परेको हो।
पोखरा विमानस्थलमा अवतरणको लागि अनुमति पाएको र अवतरणको क्रममा रहेको सो विमान सेती नदीको खोँचमा खसेको थियो। विमानमा ७२ जना सवार थिए। जसमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए।
यात्रुहरुमा ५३ जना नेपाली थिए। बाँकी विदेशी थिए। विदेशी यात्रुहरुमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्डका १ जना, अस्ट्रेलियाका १ जना, अर्जेन्टिनाका १ जना, फ्रान्सका १ जना थिए। जसमा महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ जना थिए।
विमानमा सवार सवै जना मृत फेला परेका छन्। ६८ जनाको शव आइतबार नै निकालिएको थियो भने थप ४ जनाको शव सोमबार निकालिएको थियो। उद्धार गरिएकामध्ये हालसम्म २६ शवहरुको मात्र पहिचान भएको छ। उद्धार गरिएका शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।