काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पटकपटक हुने हवाई दुर्घटनाले नेपाली आकाश असुरक्षित भएको सन्देश विश्व माझ जानु चिन्ताको विषय भएको बताएका छन्।
काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै अध्यक्ष नेपालले उक्त दुर्घटनामा निधन भएका स्वदेशी तथा विदेशी सबैप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'पटक पटकका हवाई दुर्घटना भएर नेपाली आकाश असुरक्षित भएको सन्देश विश्व समुदायमा जानु हाम्रो जस्तो पर्यटनको सम्भावना भएको मुलुकका लागि चिन्ताको विषय हो।'
उनले भनेका छन्, 'भर्खरै मात्र नयाँ विमानस्थलको निर्माण कार्य सम्पन भई उडान शुभारम्भ भएको र पर्यटक राजधानीको रूपमा रहेको पोखरामा नै भएको यस दुर्घटनाले केवल हवाई क्षेत्र मात्र होइन, सिंगो पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्न गई हाम्रो मुलुकले अवलम्बन गरेको समृद्धि र समाजवादको लक्ष्य प्राप्तिलाई समेत नकारात्मक रूपमा प्रभावित पार्न सक्छ।'
नेपालले दुर्घटनाको वास्तविक कारण यथासक्य छिटो पत्ता लगाई सार्वजनिक गर्न माग गरेका छन्। यसका साथै नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन दुनियाले देख्ने र बुझ्ने गरी प्रभावकारी कदम चाल्न समेत नेपाल सरकार एवं सम्बद्ध अधिकारीहरूको ध्यानाकर्षण गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।