काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
काठमाडौंमा हालै भएको निर्माताहरूको ‘राष्ट्रिय भेला’लाई सम्बोधन गर्दै उनले त्यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षति बराबरको रकम तिराउने गरी कानुन निर्माण गर्न लागिएको जनाए।
‘सुटिङ चलिरहेको दृश्य पहिला नै खिचेर विभिन्न सञ्चार माध्यममा सार्वजनिक गरिदिनाले निर्मातालाई ठूलो क्षति भइरहेको छ। यस्ता अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभई जरिवाना र क्षतिपूर्ति तिराउन माग गरेका छौँ”, उनले भने।
केसीले बोर्ड अध्यक्षका रुपमा करिब ६ महिनामात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासोसमेत गरे। ‘कुन बेला निस्किन्छ र म अध्यक्ष बन्छु भनेर बसेका छन्। ती व्यक्तिले मलाई काम गर्न दिएका छैनन्”, उनले भने, ‘मेरो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्ने छु। चलचित्र क्षेत्रलाई प्रवद्र्धन गर्न सबै निर्माताहरू एकजुट हुनुको विकल्प छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।