काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण आगामी ५ माघदेखि हुने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलनमार्फत डिपिएल–२ को मिति घोषणा गरेको हो।
डिपीएल–२ मा ८ सहरका ८ टिमले प्रतिस्पर्धा गर्नेछन्। अघिल्लो संस्करणमा ६ सहरका ६ टिमबीच प्रतिस्पर्धा भएको थियो। जसमा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, विराटनगर किङ्स, कन्चनपुर आईकोनिक र काठमाडौ गोल्डेन्सले सहभागिता जनाएका थिए। यसपटक थप हुने दुई टिमको नाम पछि सार्वजनिक गरिने डिपिएलका निर्देशक सुवास शाहीले जानकारी दिए।
डिपिएलमा सहभागि हुने खेलाडीको अक्सन तथा टिमको घोषणा मंसिरमा गरिनेछ। डिपिएल खेल्न चाहने खेलाडीले धनगढी क्रिकेट एमेडेमीमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ। खेलाडीको न्यूनतम मूल्य पनि पछि सार्वजनिक गरिनेछ।
डिपिएल–२ को पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ। विजेतालाई २५ लाख रुपैयाँ प्रदान गरिनेछ। उपविजेतालाई १० लाख, तेस्रो हुने टिमलाई ३ लाख र चौथो टिमलाई २ लाख प्रदान गरिनेछ। अघिल्लो सिजन विजेतालाई १५ तथा उपविजेतालाई ७ लाख प्रादन गरिएको थियो। यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार तथा म्यान अफ दि सिरिजलाई टिभिएस अपाचे मोटरसाइकल प्रदान गरिनेछ।
डिपएलको मुख्य प्रायोजन बापत रुस्लान क्रिकेटले ३५ लाख रुपैयाँ नगद र ३५ लाख रुपैयाँ बराबरको प्रवर्द्धनात्मक कार्यक्रम गर्नेछ। डिपिएलको कुल बजेट ३ करोड भएको आयोजकले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।