लोडसेडिङ हुनाले पसलहरूमा मैनबत्ती बलेका छन्। प्रकाश पसलभित्रै सीमित छ। बाहिर सडक अँध्यारो छ। उसै पनि यस साँघुरो सडकमा स्ट्रिटलाइटको व्यवस्था छैन। कतैकतै घुम्तीमा देखिने ल्याम्पपोस्ट अरु दिन पनि बल्दैनन्। कहिलेकाहीँ बलिहाले पनि यति मधुरो हुन्छ, दुई जना मित्रको भेट भयो भने पनि अपरिचितझैं तर्केर हिँड्छन्।
अतः यो सडक उज्यालो हुने गरेको छ, लोडसेडिङ नहुँदा, पसलका बिजुलीको प्रकाशद्वारा अथवा यदाकदा आउने-जाने वाहनहरूद्वारा। कति बज्यो ? ऊ घडी हेर्न खोज्छ। तर उसले बाँधेको घडीमा रेडियम डायल नहुनाले केही देखिँदैन। देखिन्छ, नाडीमा बाँधिएको कालो, गोलो, चक्का!
ऊ आफूसितै कुरा गर्दै हिँडिरहेछ।
ऊ- 'यो देश जलस्रोतमा धनी छ।
आफू– 'विद्युत् उत्पादन र वितरणमा दरिद्र छ।’
ऊ- 'ढलबाट पनि विद्युत् उत्पादन गर्न सकिन्छ रे!’
आफू– 'यी दुवै तत्त्व मिसाइँदा पनि पेय जलमा दरिद्र छौं।’
आफू– 'मलबाट पनि सकिन्छ।’
ऊ- ढल र मलमा हामी धनी छौं।’
ऊ- "कति कुरा काटेको!’
आफू– 'कति गफ छाँटेको!’
ऊ- 'मैले भनेका कुरा सत्य हुन्।
आफू– ‘गहन असत्य अहिले तिम्रो मैनबत्तीजस्तो सत्यको ठीक तल बसेको छ।’
एउटा घुम्ती आइपुग्छ। यहाँ पनि शोभाका लागि एउटा ल्याम्पपोस्ट छ, कहिल्यै नबल्ने। आज त झन् यहाँ बाक्लो अँध्यारो छ। यस अभेद्य अन्धकारभित्र पाँच-सात ओटा जूनकीरी टल्किंदै छन्। उसको मुटु ढक्क फुल्छ। जूनकीरी भए यताउति उड्नुपर्ने, तर ती एकै ठाउँमा टल्किरहेछन्। पक्कै त्यहाँ पाँच-सात जना चुरोट खाएर उभिइरहेका होलान्। जाँड पनि धोकेका होलान्। के ठेगान, छुरीसुरी पनि बोकेका होलान्।
यस्तै लोडसेडिङको बेला छ महिनाभित्र दुई ओटा सुनचाँदीका पसलमा डाँका मारियो। एक ठाउँमा गोली हानियो, अर्को ठाउँमा बम पड्काइयो। यो काठमाडौं खाल्डोबाट बाहिर निस्किने मात्र दुईओटा बाटा छन्। एउटा थानकोट, अर्को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। ती डाँकाहरू कता बिलाए होलान्। ऊ यही सोचेर भयभीत हुन्छ। डरले आफूसित कुरा गर्ने आँट पनि गर्दैन।
तिनै जूनकीरीहरूतिर कर्के आँखाले हेर्दै कुदाँ जस्तो लाग्छ। तर खुट्टा लुला हुन्छन्, चाल अझै मत्थर। भीरछेउ हिँड्दा भीरतिर हेर्नु हुँदैन, किनभने खुट्टा झन् त्यतै लहसिन्छन्, ऊ भयले भाग्न सक्तैन। आसन्न भय अलि टाढा भए ऊ भागिसक्ने थियो।
राम-राम गर्दै मत्थर चालले हिँड्दै भए पनि त्यो अँध्यारो ल्याम्पपोस्ट पछि पत्यो। एक्कासि उसको पिठ्यूँमा जोडदार हाँसो आएर बजियो। अहिले भने ऊ हच्केको मृगझैं बुर्कुसी मारेर अलि टाढा त्यहाँसम्म पुग्यो, जहाँनेर एउटा सानो खिप्रीमिनीको पसल थियो। चौथाइ टुक्रो मैन बलिरहेछ र तरूनी छोरीको सट्टा अहिले त्यहाँ बूढो बाउ चुरोटको चौथाइ टुक्रो चुसेर बसिरहेछ।
के यस बूढाले लोडसेडिङमा केही भइहाल्यो भने आफ्नो पसल जोगाउन सक्ला? तरुनी छोरी भने जोगाएको छ, भला।
ऊ पसलसामु गएर उभिन्छ पसलभित्रको मधुरो प्रकाश आफूमा पर्नासाथ ऊ लज्जित हुन्छ। चुरोट किनेर खान मन लाग्छ। तर उसले यसो गर्दैन। पसले बूढोसामु ऊ लज्जित हुन चाहँदैन, अतः त्यहाँबाट हिँड्छ।
बाटोमा आफूलाई सोध्छ।
ऊ- 'प्रकाशले मानिसलाई लज्जित पार्छ?’
आफू– ‘पार्छ, अनि पो लोडसेडिङ गरेको!’
ऊ– ‘नचाहिने कुरा नगर। प्रकाश भनेको ज्ञान हो, ज्ञानले कहीं मानिसलाई लज्जित पार्छ र?’
आफू– 'ज्ञानीहरू नै लज्जित हुन्छन्। निर्लज्ज त अज्ञानी पो हुन्छन्। धन्यवाद देऊ लोडसेडिङ गर्नेहरूलाई, जसले तिमीलाई तथाकथित ज्ञानी बनाएर लज्जित पारेका छैनन्।’
उसलाई अब आफूसित पनि कुरा गर्न मन लागेन। गोजी छाम्यो, पैसा छ। अघि पसलमा मैनबत्ती किनेको भए हुन्थ्यो। तर होला, घरमै पनि होला। यस्तो जाबो कुराको जोहो त घरमै पनि गरिराखेका होलान्।
उसको घर अर्थात् डेरा आइपुग्न अब धेरै टाढा छैन। अर्को घुम्तीनेरको गल्लीमा छिरेपछि ट्वाक्कै आइपुग्छ। गल्ली परने त्यस घुम्तीमा पनि एउटा ल्याम्पपोस्ट छ। ल्याम्पपोस्टको दाहिनेतिर एउटा पसल छ भने देब्रेतिर गल्लीको घोर अन्धकार छ। आज यस लोडसेडिङको बेला पसल मैनबत्तीले धमिलिएको छ भने ल्याम्पपोस्टमुनिको सडक र गल्लीको दोभान, घनघोर अँध्यारोमा डुबेको छ।
मानिसहरूको आवतजावत थोरै हुनाले ऊ पुनः एक पटक डराउन थाल्छ। घरनेरको घुम्ती आइनपुग्दै उसले अलि टाढैबाट देख्छ, एउटा मोटर, सम्भवतः स्टेसनब्यागन, ल्याम्पपोस्ट तल उभिएको छ। पसल मोटरले छेकिएको हुँदा त्यहाँ अन्धकार झन् बाक्लो छ।
एक्कासि ऊ झसङ्ग भएर टक्क अडिन्छ।
आँखा च्यातीच्याती सडक र गल्लीको सङ्गमतिर हेर्न थाल्छ।
निगेटिभ चलचित्रझैँ एउटा दृश्य देखा पर्छ।
चार जनाबीच एउटी फ्रक लगाएकी केटी घेरिएकी छे। ऊ तिनीहरूदेखि फुत्किन यताउति गर्छे, तर ती चारै जना फिल्मी खलनायकहरूझैं कम्मरमा हात राखेर उभिएका छन्। त्यो केटी किन कराउँदिन?
सम्भवतः डरले स्वर बसेर हो कि?
अथवा इज्जतको भयले हो कि?
आSS, होली, कुनै बाइफाले केटी होली। कुरा मिलेन होता, घिस्स्याएर लान थाले होलान्। अन्यथा गुहार माग्न चिच्याउनु पर्दैन? उसका गोडा डरले अघि सदैनन्, बरु केही पाइला पछि थाल्छन् उसलाई थाहा छ, यी खलनायकहरूले उसलाई देखे भने मुखको गाँस खोस्न आएको ठानी भक्कुमार गोदन बेर लगाउने छैनन्।
उसको आङ जुरूङ्ग गर्छ। देखा, कसैलाई नचिने पनि देखा, निगेटिभ चलचित्र देखा घेरा साँघुरिदै छ र सेतो फ्रक लगाएकी त्यो केटी दुवै हात उचालेर फुत्किने प्रयत्नमा यताउति गरिरहेकी छे। अस्पष्ट भए पनि दृश्य अत्यन्त कारूणिक छ। लाग्छ, एउटी सानी चरी चार ओटा ढाडेहरूद्वारा घेरिएकी छे।
अरुको क्रियाकलापमा हस्तक्षेप नगर्ने प्रजातान्त्रिक भलादमी ऊ भयभीत र अन्यमनस्क छ। अघि बढेर रक्षा गरी कि, सहायतार्थ चिच्याऊँ कि, के गरौ कसो गरौं?
निमेषभरिमै दृश्य परिवर्तित हुन्छ। एउटा अग्लो खलनायकले झम्टेर। देब्रे हातले त्यस केटीको मुख थुन्छ, अनि दाहिने हातले कम्मरमा समातेर जुरूक्क हावामा उचाल्छ। त्यो केटी जोडजोडले चार हातखुट्टा फाल्न थाल्छे विद्युत्गतिले ती सबै मोटरमा पस्छन्। अनि मोटर गर्जिदै उसको छेवैबाट हुइँकिन्छ।
ऊ झल्याँस्स हुन्छ। यसै बेला बिजुलीको लाइन आइपुग्छ। चारैतिरका घरहरू र पसल झलमल्ल हुन्छन् ल्याम्पपोस्ट भने अझै छैन। कहिल्यै बल्दा पनि बल्दैनथ्यो। तापनि वरिपरिको उज्यालोमा उसले देख्छ, अब त्यहाँ कोही छैन एक प्याकेट मैनबत्तीसिवाय। उसले भुइँमा खसेको त्यो मैनबत्तीको प्याकेट टिप्छ। सम्भवतः त्यै केटीको होला। ऊ खुसी हुँदै घरतिर लम्किन्छ। अर्को लोडसेडिङमा काम लाग्नेछ।
घरमा अर्थात् डेरामा पुग्नासाथ बिजुलीको प्रकाशमा स्वास्नीचाहिँले उसलाई र उसका हातमा मैनबत्तीको प्याकेट देखेर भनी - "हेर्नुस् न, आडैको पसलमा मैनबती किन्न गएकी छोरी अझै आइन, तपाईंले भेट्नु भएन ?
"सेतो...?’
‘अँ, सेतो फ्रक...?’
ऊ अवाक् भएर बहुलाई आफ्नी स्वास्नीतिर क्वारक्वारती हेरिराख्छ, हेरिराख्छ।
(यो कथा नेपालका प्रसिद्ध कथाकार स्व. मनु ब्राजाकीको कथासंग्रह ‘जनजीवनका जीवनगाथा’बाट साभार गरिएको हो।)
000
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।