रसुवा – रसुवाको कालिका गाउँपालिकाको भिलेज प्रोफाइल (पार्श्वचित्र) बनाउने कार्य सुरु भएको छ ।
स्थानीय तहको आधिकारिक सूचना दिने तथा वास्तविक अवस्था झल्कने गरी भिलेज प्रोफाइल निर्माण गर्न थालिएको कालिका गाउँपालिकाका प्रमुख सीताकुमारी पौडेल अधिकारीले बताइन् । गाउँपालिकामा रहेका सबै खालको सूचना संकलन गरी यथार्थपरक ढंगले पार्श्वचित्र निर्माण गर्दा सरोकारवालाहरुलाई विकासका काम सञ्चालन गर्न सहयोग पुग्ने उनको भनाइ छ।
पौडेलले भनिन्, ‘संविधान र ऐन तथा नियमावलीमा भिलेज प्रोफाइल तयार गरी त्यसैका आधारमा योजना छनोट गर्नुपर्ने व्यवस्था उल्लेख भए अनुसार भिलेज प्रोफाइल निर्माण गर्न थालेका हौं।’
भिलेज प्रोफाइल निर्माणमा तथ्य सूचना संकलन गर्न सर्वेक्षकहरूलाई तालिम प्रदान गरिएको छ । गाउँपालिकामा रहेका वडाका सबै घर तथा सदस्य, जातजाति, विद्यालय, स्वास्थ्य चौकी, वनजंगल, पोखरी, धारा, कुलो, खेतबारी सबै खुल्नेगरी प्रोफाइल बनाउन लागिएको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए।
भिलेज प्रोफाइल निर्माणका लागि डिजिटल टेक्नोलोजी एन्ड कन्सल्टेन्सी प्रालि र तेजिलो सचेतना समाज नेपाललाई जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।