वीरगञ्ज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले संविधान संशोधन विधेयक एमालेको चरम नश्लवादी सोच र राप्रपाको विभाजनले असफल भएको बताएका छन्। वीरगञ्जमा सम्पन्न केन्द्रीय सचिवालय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले संघ र प्रदेशको निर्वाचनपछि फेरि संशोधन गर्न सकिने बताए। उनले भने, ‘तर चुनावअघि संविधान संशोधन सम्भव छैन।’
केन्द्रीय सचिवालय बैठकले आसन्न निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर अभियान तीव्र पार्ने निर्णय गरेको छ।
शनिबार वीरगञ्जमा सम्पन्न बैठकले २ नम्वर प्रदेशमा माओवादीप्रतिको आकर्षण बढ्दै गएको निष्कर्षसहित स्थानीय तह, प्रदेश र संघको निर्वाचन अभियानलाई तीव्र पार्ने निर्णय गरेको हो। बैठकले तराई—मधेसका बाढी प्रभावित जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरी राहतको विशेष प्याकेज सञ्चालन गर्न सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ।
अध्यक्ष दाहालले भने, ‘मधेसमा बाढीबाट ठूलो धनजनको क्षति भएको छ, यसले हामीलाई संवेदनशील बनाएको छ। तराई—मधेसका बाढी प्रभावित जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र पुनःस्थापनाको कामलाई तीव्र पार्न सरकारसँग गम्भीर रुपमा कुरा राख्नेछौं।’
उनले मधेसमा माओवादीको पक्षमा निकै ठूलो लहर देखिएको दाबी गरे। भने, ‘हामी आवश्यकता र औचित्यका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग तालमेलको नीति लिन्छौं र मूख्यः मधेस केन्द्रित दललाई प्राथमिकता दिने निर्णय गरेका छौं। मधेशमा माओवादीलाई ठूलो सफलता मिल्नेमा हामी विश्वस्त छौं।’
बैठकले राजनीतिक ध्रुवीकरणको अभियानले माओवादी केन्द्रमा नयाँ उत्साह र आत्मविश्वास बढेकाले ध्रुवीकरणको अभियानमा जोड दिने निर्णय गरेको छ। बैठकमा हालै मात्र माओवादी केन्द्रमा प्रवेश गरेका नेताहरु देवेन्द्र पौडेल, रामेश्वर राय यादव, रामचन्द्र झा र पासाङ शेर्पाले आफ्ना अनुभूति व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।