काठमाडौं- नेकपा मालेकी सांसद कलशा महरासहितका ६ दर्जन नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा सांसद महरासहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अबीर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
सांसद महराले माओवादी केन्द्रको नीतिप्रति सहमत भएर आफू पार्टी प्रवेश गरेको बताइन् । अध्यक्ष प्रचण्डले बृहत् ध्रुवीकरणमार्फत नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियानको पूर्वसन्ध्यामा भएको एकताले दूरगामी अर्थ राख्ने बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘हामी नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियानमा छौं । बृहत् एकता र ध्रुवीकरणका बलमा मात्रै नेपालमा समाजवादी क्रान्ति गर्न सकिन्छ ।'
उनले पार्टी प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।