काठमाडौं– २०६०/०६१ सालको कुरा हो। सडकमा आन्दोलन गर्दा पटकपटक प्रहरी हिरासत पुग्थिन् सीता मिजार। आन्दोलन गर्दा उनी पाँच पटकसम्म हिरासतमा बसिन्।
राज्यपक्षको दमनले शरीर शिथिल बनेको हुन्थ्यो। तर जतिसुकै यातना भोग्नुपरे पनि ‘गणतन्त्र जिन्दावाद’को नारा लगाउन भने छाडिनन् उनले। सानै उमेरकी किशोरीले सडकमा नारा लगाउनु त्यो बेला ठूलो चुनौती थियो। घरमा छोरी बाँच्दिन कि भनेर चिन्ता गर्न थालेका थिए।
उनी जनआन्दोलनमा घाइते भइन्। उनको दाँत भाँचियो। उपचार गरेर नयाँ हालेकी छिन्। शरीरको कुनै भाग छैन, चोटपटक नलागेको।
घरमा सीताको मुख काटिएको छ भनेर खबर गएछ। आत्तिदै फोन गरे। अब छोरी बाँच्दिन भन्दै परिवारमा रुवाबासी चल्यो।
राजनीति छोड्न परिवारले पटकपटक दबाब दियो। विद्रोहको मसाल बोकेकी सीतालाई भने राजनीति छोड्न सहज थिएन। उनी बरु परिवारको सम्पर्कमै रहिनन्। 'त्यो बेला परिवारलाई मनाउन निकै कठिन भयो,' उनले भनिन्।
नमिता चौधरी, रुपा पोखरेल, साधना घिमिरे, विनिता अधिकारी र एञ्जिला पौडेलसँगसँगै उनी आन्दोलनमा होमिएकी थिइन्। सडकको विद्रोहबाट नै राजनीतिक यात्रा तय भयो सीताको।
घरमा विवाह गर्न दबाब थियो। तर मानिनन्। उनलाई राजनीतिक नसा लागिसकेको थियो। परिवार भने जागिर गरेर बसोस् भन्ने चाहान्थे। उनले घरपरिवार र समाजबाट विद्रोह गरिन्। समाजमा महिला, त्यसमाथि दलित भएर प्रश्न गर्न सहज थिएन। विद्रोहलाई चुनौतीका रुपमा स्वीकार्दै उनी निरन्तर आन्दोलन र पार्टी राजनीतिमा सक्रिय भइन्।
सडक आन्दोलन तताउने तिनै सीता अहिले समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य बनेकी छन्। उनी युवाको प्रतिनिधित्व गर्छिन्।
०००
सीताको जन्म २०४४ मा नुवाकोटको शिवपुरी गाउँपालिका- ८, छानापति गाउँमा भएको हो। उनको गाउँ काठमाडौंबाट २३ किलोमिटर टाढा रहेको छ। परिवारमा आमा, पाँच दिदीबहिनी र तीन दाजुभाइ छन्। बुबाको भने पाँच वर्षअघि निधन भइसकेको छ।
उनको परिवारको मनग्ये खेतीपाती थियो। खान-लाउन दु:ख थिएन। खान पुगेर केही अन्नपात बिक्री समेत हुन्थ्यो। खेती-किसानी नै परिवारको आर्थिक स्रोत थियो।
उनीहरुले कहिले बालीघरे प्रथा गरेर खानुपरेन। सबै जातजातिका मानिसको बसोबास थियो उनको गाउँमा। परिवार पाल्न गाह्रो नभए तापनि छोरी पढाउनुपर्छ भन्ने चेतना भने आएको थिएन। छोरालाई विद्यालय सहजै पठाउने तर छोरीलाई मेलापात गराउने समाजको चलन नै थियो।
उनले भने आठ छोराछोरीमा सजिलै शिक्षा ग्रहण गर्ने वातावरण पाइन्। 'म सबैभन्दा भाग्यामानी भएझैं लाग्छ,' उनले भनिन्, 'म भन्दा कान्छा भाइबहिनीले समेत राम्रोसँग पढ्ने अवसर पाएनन्। म भने त्यो अवसरबाट बञ्चित हुनुपरेन।'
सीताले १० कक्षासम्म जनज्ञान माविमा अध्ययन गरिन्। कक्षामा सबैजसो गैरदलित समुदायका हुन्थ्ये। उनी र अर्को एक जना मात्र दलित समुदायका महिला कक्षामा थिए। सँगै पढ्ने साथीको सात कक्षामा पढ्दापढ्दै विवाह भएकोले सीता एक्लो भइन्। समुदायमा पढ्ने दलित समुदायको उनी मात्र भइन्।
२०६० सालमा एसएलसी दिइन्। उनको घर काठमाडौं जिल्लासँग जोडिएको थियो। आफन्तहरु काठमाडौंमै बसोबास गर्थे। सीता एसएलसी दिएर काठमाडौं आइन्। र, दिदीसँग मैतिदेवीमा बसिन्।
प्रमाणपत्र तह भने पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा जनसंख्या र नेपाली लिएर अध्ययन गरिन्। विद्यालयमा नै मिहिनेती र लगनशील भएकाले परिवारले सहजै काठमाडौं पठाउन माने। स्नातक पनि पद्मकन्या बहुमुखी क्याम्पसबाट समाजशास्त्र र ग्रामीण विकास लिएर अध्ययन गरिन्। उनले स्नातकोत्तर भने त्रिभुवन विश्वविद्यालयबाट गरिन्। उनले नेपाल ल क्याम्पसबाट एलएलबी समेत गरेकी छिन्।
जमिन धेरै भएको हुनाले आफन्तले नै उनको परिवारको जमिन हडपेका थिए। त्यसले गर्दा कताकता मनमा विद्रोह उत्पन्न भएको थियो। त्यसैले पनि कानुन अध्ययन गरेकी थिइन् सीताले।
विद्यार्थी राजनीतिबाट उदाएकी सीता
उनको परिवारमा अरु कोही पनि राजनीतिमा छैनन्। दाइहरुमा भने राजनीतिक चेतना थियो। कुनै पार्टीमा प्रत्यक्ष नजोडिए पनि नेपाली कांग्रेसप्रति आस्था थियो। यही क्रममा सीता पनि कांग्रेसको राजनीतिमा होमिइन्। नेपाली कांग्रेसका नेता रामशरण महत र प्रकाशशरण महतको घर र उनको घर वारिपारि थियो। जसले गर्दा कांग्रेसमा आस्था बढेको उनी बताउँछिन्।
सुरुमा राजनीतिक चासो भए पनि कसरी लाग्ने आइडिया थिएन। जब पद्मकन्या क्याम्पसमा भर्ना भइन्। त्यतिबेलादेखि उनलाई राजनीतिमा लाग्न सहज भएको थियो। त्यो समय राजसंस्था विरुद्धका नारा सडकमा उर्लिंदै थिए। कलेजमा आउँदा-जाँदा ती कुराले विद्रोह गर्ने चेत खुल्न थाल्यो।
पहिलो पटक पद्मकन्या क्याम्पसको कक्षाको प्रारम्भिक कमिटीमा सदस्य भइन्। पछि इकाई कमिटीमा आवद्ध भइन्। पछि २०६२ सालमा नेपालमा विद्यार्थी संघबाट स्वतन्त्र विद्यार्थी युनियनमा सदस्यमा निर्वाचित भइन्।
विद्यार्थी राजनीतिबाट उदाएका सीता पछि जिल्ला गएर जिल्ला कमिटी सदस्य भइन्। क्षेत्रीय कमिटीमा बसेर काम गरिन्। नेपाली कांग्रेसको १२औं महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि भएर आइन्।
त्यसपछि भने दलित संघमा केन्द्रीय सदस्य भइन्। महिला संघमा पनि आवद्ध भएर विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम चलाइन्। १३औं महाधिवेशनमा दलित कोटाबाट केन्द्रीय सदस्य लडिन्। तर पराजित भइन्। १४औं महाधिवेशन पनि खुला महिला कोटाबाट केन्द्रीय सदस्य लडिन्। यस पटक पनि पराजित भइन्। तर पार्टीको कार्यक्रममा निरन्तर छन्।
दोस्रो प्रयासपछि सफल
२०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिकमा उनको नाम थियो। तर अन्तिम सूचीमा उनको नाम अटाएन। दोस्रो पटक २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि समानुपातिक सूचीमा नाम सिफारिस भएको थियो। त्यसपटक पनि अन्तिममा नाम हटाइयो। अन्ततः दोस्रो प्रयासपछि भने उनी सांसद बनेकी छन्।
संसद् नियम-कानुन निर्माण गर्ने थलो हो। पहिलो पटक संसद् छिर्दा अवसर र चुनौती दुवै रहेको सीताले बताएकी छन्।
उनी भन्छिन्, ‘म सडकबाट आएको मान्छे हुँ। विद्यार्थी, सीमान्तकृत, दलित, जनजाति, पिछडिएका महिलाको न्यायका लागि आवाज उठाउँछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।