काठमाडौं– अबदेखि चलचित्र प्रदर्शन भन्दा ४ दिनअघि सेन्सर सिफारिस लिन पाइने भएको छ।
यसअघि स्वदेशी तथा विदेशी चलचित्र जाँचका लागि सिफारिस लिन प्रदर्शन मिति भन्दा कम्तिमा ७ दिन अगावै दरखास्त पेश गर्नुपर्ने नियम थियो। चलचित्र विकास बोर्डले नियमलाई परिमार्जित गर्दै अब ४ दिन अगावै दरखास्त पेश गर्नुपर्ने गरी निर्णय गरेको छ।
११ पौष २०७९ मा बसेको चलचित्र विकास बोर्डको बैठकले यो नियमलाई संशोधन गरेको हो।
बैठकबाट बेलुकी ११ बजेपछि चलचित्र प्रदर्शनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नु परेमा प्रदर्शन गर्नु अगावै बोर्डलाई जानकारी गराए हुने निर्णय भएको छ।
यसअघि बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्विकृती लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।