खोटाङ– गत मंसिर २७ गते ललितपुरका सगेन्द्र श्रेष्ठले ‘यस्तो अनुभव फेरि भोग्न नपरोस्, यस्तो दुःख अरु कसैलाई नहोस्’ भन्दै एक महिलाले धुलाम्मे रोडमा बच्चा जन्माएको फोटो र सहयोग गर्दाको भोगाइ फेसबुकमा पोस्ट गरे।
यो घटना खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको हो। हलेसी तुवाचुङ नगरपालिका- ५, बतासेघाटकी ३३ वर्षीया सुस्मा राईलाई २८ गते राति १ बजे सुत्केरी व्यथाले च्याप्यो। व्यथाले निकै गाह्रो बनाएपछि सुस्माले अस्पताल लैजान आफ्ना श्रीमान् सरोज राईलाई भनिन्।
रातिको समय थियो। अस्पताल घरबाट निकै टाढा थियो। त्यसकारण श्रीमानले उनलाई घरैमा हेरचाह गरिरहे। वरपर छिमेकीलाई पनि बोलाए।
'उहाँले एकछिन् पर्ख, उज्यालो भएपछि जाउँला। यहीँ पो जन्मिन्छ कि भन्नुभयो। मलाई भने निकै गाह्रो भइरहेको थियो,’ उनले भनिन्।
यसअघि सुस्माले २ वटा बच्चा जन्माइसकेकी थिइन्। पहिलो छोरी १२ वर्षअघि कटारीको अस्पतालमा जन्माएकी उनले दोस्रो छोरा ९ वर्षअघि घरैमा जन्माएकी थिइन्। तेस्रो बच्चा पनि घरमै सजिलै जन्मिन्छ भन्ने उनीहरुलाई लागेको थियो। तर सोचेजस्तो भएन। व्यथाले च्याप्दै गएपछि उनका श्रीमान् आत्तिए।
छिमेकीले पनि अस्पताल लैजान सल्लाह दिए। उनलाई अस्पताल पुर्याउन निकै गाह्रो थियो। बाटो साँघुरो थियो। गाडी, एम्बुलेन्स चल्न सक्ने बाटो थिएन। बिरामीलाई बोकेरै अस्पताल लैजानुपर्ने अवस्था भयो।
सरोजको आफ्नै मोटरसाइकल थियो। मोटरसाइकल जान सक्ने बाटो भएकाले मोटरसाइकलमै श्रीमतीलाई अस्पताल लैजाने निधो गरे। मोटरसाइकलमै जाँदा पनि अस्पताल पुग्न डेढ घण्टा लाग्ने बाटो थियो।
बिहानको ८ बजेको थियो। सरोज सुस्मालाई बाइकमा राखेर निस्किए। ‘नगरपालिकाको एम्बुलेन्स त थियो। तर बाटो साघुँरो भएका कारण एम्बुलेन्स जाँदैनथ्यो। बोकेर पुर्याउन दिनभरि लाग्थ्यो। बरु मोटरसाइकल जानसक्ने भएकाले मोटरसाइकलमा गयौं,’ उनले भनिन्।
घरबाट हिँडेको झण्डै एक घण्टा बितिसकेको थियो। सुस्मालाई झनझन व्यथाले च्यापेको थियो। बाटोमा गाह्रो हुँदा सरोजले बिसाउँदै फेरि बाइकमा राखेर गुडाउँदै थिए। केही समयपछि व्यथाले निकै च्याप्यो। उनी बाइकको पछाडि अडिएर बस्न सकिनन्। त्यसपछि श्रीमानले मोटरसाइकलबाट ओराले। सुस्मा धुलो सडकमा लडिबुडी गरिरहिन्। श्रीमानले उठाउन खोज्दा पनि सकिरहेका थिएनन्।
त्यही बेला २ जना युवक त्यही बाटो मोटरसाइकलमा आउँदै थिए। ती युवकसँग सरोजले सहयोग मागे। उनीहरु मोटरसाइकल रोकेर सहयोग गर्न लागे।
‘धुलाम्मे रोडमा म पीडाले छट्पटाएकी थिएँ। श्रीमानले मलाई समातेर उठाउन खोज्नुभएको थियो। म बाइकमा बस्न सक्ने अवस्थामा थिइनँ। त्यही बाटो भएर आएका भाइहरुले सहयोग गर्नुभयो,’ सुस्माले सुनाइन्।
घाम लागे पनि जाडो मौसम भएकाले चिसो हावा चलिरहेको थियो। सुस्मा धुलोमा पल्टिएकी थिइन्। ‘मलाई अति गाह्रो भयो। बच्चा जन्मिन लागेको महसुस भयो। पेटमा थिच्नु, बच्चा झर्न लाग्यो भनेर मैले भनें। त्यसपछि श्रीमानले पेट थिचिदिनुभयो। ती सरहरुमध्ये एक जनाले मेरो हात समात्नुभयो। अर्कोले ज्याकेट भुइँमा ओछ्याउनुभयो। त्यसपछि मैले बल गरे,’ उनले भनिन्।
बिहान ९ बजेको थियो। सुस्माले बल गरेपछि केही छिनमा बच्चा जन्मियो। बच्चाको आधा जिउ ज्याकेटमा आधा जिउँ भुँइमा परेको थियो। ‘बच्चा जन्मिएपछि सबै जना खुसी भयौँ। आँखा खोल्न नसकेर बच्चा हात र खुट्टा चलाउँदै रुन थाल्यो। बल्ल शान्ति मिल्यो,’ सुस्माले अनुभव सुनाइन्।
‘बाटोमा जन्मेको बच्चाको नाम राख्ने? भनेर सहयोग गर्ने एक जनाले भन्नुभयो। मेरो श्रीमानले ‘इन्जिनियर’ राख्नुपर्छ भन्नुभयो। ‘हो यो बच्चाले यो बाटो बनाएर अरुको दुःख मेट्नुपर्छ’ भन्दै सरहरु हाँस्दै हुनुहुन्थ्यो,' उनले भनिन्।
एकछिनमा सुस्मा उठिन्। पानी तिर्खा लागेको थियो। तर पानी थिएन। बच्चा त जन्मियो, तर साल झर्नै बाँकी थियो। बच्चाको साल काट्नुपर्ने, तर कसरी काट्ने? समस्या भयो।
अलि तल कोशीवारि उनीहरुका आफन्त बस्थे। सुस्माका श्रीमानले खबर गरेपछि आफन्तहरु पानी, लुगा, धागो र ब्लेड लिएर आए। त्यसपछि सालनाल काटेर घर फर्किए।
‘म पनि बाइकमै बसेर घर फर्किएँ। सहयोग गर्ने सरहरुलाई पनि उतै लग्यौं। उहाँहरु हाम्रा लागि भगवान बनेर आउनुभयो। हामीलाई ठूलो गुन लागाउनुभयो। सबैले यसरी कहाँ सहयोग गर्छन् र,’ सुस्माले भनिन्।
ती दुई सहयोगी युवकहरु कोल्यावरेटिभ स्कुल नेटवर्कमा काम गर्ने भएकाले उदयपुर जिल्लाका केही विद्यालयको सहकार्यमा प्रोजेक्टको कामका लागि त्यहाँ पुगेका रहेछन्। तीमध्ये सगेन्द्र श्रेष्ठ कोल्यावरेटिभ स्कुल नेटवर्कका को-डिरेक्टर हुन्। उनको घर ललितपुरको महालक्ष्मी नगरपालिका- ८ मा पर्छ। अर्का प्रशान्त ज्ञवाली उनका साथी हुन्।
खोटाङ विकट पहाडी जिल्ला हो, जहाँ केही स्थानमा मोटरबाटो पुगिसके पनि कच्ची भएकाले ठूला सवारी साधन गाउँगाउँमा पुग्दैनन्। मुख्य बजार क्षेत्रमा मात्र सवारी साधन चल्छन्।
गाउँमा सविधायुक्त अस्पताल छैनन्। उपस्वस्थ्यचौकी पुग्न पनि घण्टौं हिँड्नुपर्छ। खोटाङका ग्रामीण भेगमा अझै पनि बिरामी बोकेरै अस्पताल पुर्याउनुपर्ने अवस्था छ। अस्पताल टाढा भएकाले बाटोमै बच्चा जन्मिने र प्रसव व्यथाले च्याप्दा पनि गर्भवतीलाई तीन/चार दिनसम्म घरमै बस्नुपर्ने बाध्यता छ।
‘हलेसी नगरपालिका भित्रको अवस्था त यस्तो छ भने गाउँपालिकाहरुको अवस्था के होला?,' सुस्मा राई प्रश्न गर्छिन्, 'हाम्रो जिल्लाका नेताहरु केही गर्दैनन्। चुनाव आएपछि भोट माग्न आउँछन्। जितेपछि काठमाडौंमा बस्छन्। गाउँको अवस्था यस्तो छ। एउटा एम्बुलेन्स लैजान मिल्ने बाटो छैन। कसले गर्ने हो।’
उनको सुझाव छ, ‘मैले त पीडा भोग्नु पर्यो। अब आउने दिनमा अरुले यस्तो पीडा भोग्नु नपरोस्। मेरो गाउँमा ठूलो बाटो बने हुन्थ्यो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।