काठमाडौं– फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको नयाँ विश्वविजेता बनेको छ। यससँगै अर्जेन्टिनाले विश्वकपको उपाधि तेस्रोपटक जित्दै पराजित फ्रान्सलाई उछिनेको छ।
फ्रान्स भने तेस्रोपटक विश्वकप जित्नबाट बञ्चित भएको छ।
हालसम्म आठवटा देशले विश्वकप जितेका छन्। युरोपबाट पाँच र दक्षिण अमेरिकाबाट तीन टोलीले विश्वकपमाथि कब्जा जमाएका छन्। समग्रमा युरोपले १२ र दक्षिण अमेरिकाले १० पटक विश्वकपको उपािध जितेका छन्।
विश्वकपको उपाधि सबैभन्दा धेरै जित्नेमा दक्षिण अमेरिकी टोली ब्राजिल पर्छ। उसले पाँचपटक उपाधि जितेको छ।
ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ विश्वकप जितेको छ।
ब्राजिलपछि दोस्रो स्थानमा जर्मनी र इटाली छन्। यी दुवैले चार–चारपटक विश्वकपको उपाधि हात पारेका छन्।
जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप जितेको छ। यस्तै, इटालीले १९३४, १९३८, १९८२ र २००६ मा विश्वकपको उपाधिमाथि आफ्नो कब्जा जमाएको छ।
साथै, हालैको विजेता अर्जेन्टिनाले १९७८, १९८६ र २०२२ गरी तीनपटक उपाधि हात पार्न सफल भएको छ।
यस्तै, फ्रान्सले १९९८ र २०१८ गरी दुईपटक विश्वकप जितेको छ।
यसैगरी, इंग्ल्याण्ड र स्पेनले एक–एक पटक विश्वकप जितेका छन्। इंग्ल्याण्डले १९६६ र स्पेनले २०१० मा विश्वकप जितेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।