सोलु (नाम्चे)- २५ प्रतिस्पर्धीलाई उछिन्दै सोलुखुम्बु, महाकुलुङ–५ का सुमन कुलुङले यस वर्षको रोयल अल्ट्रा म्याराथनको उपाधि हात पारेका छन्। उच्च हिमाली क्षेत्र नाम्चेदेखि सुरु भएर गोक्यो ताल हुँदै ४ हजार ३ सय ४० मिटर उचाइको रेन्जोला छिचोल्दै उनी विजयी बने।
हरेक वर्ष अक्टोबर ५ मा आयोजना हुने म्याराथनको यो तेस्रो संस्करण हो। नाम्चेदेखि रोन्जोला पास अन्तर्गत ६४ किमि दुरी पार गर्न सुमनलाई ७ घन्टा ३० मिनेट लागेको थियो। यो ट्रेल छिचोल्न पर्यटकहरुका लागि ५ दिनको प्याकेज हुन्छ।

म्याराथनमा ओखलढुंगा मोलुङ गाउँपालिका– ७, का लाक्पा शेर्पा दोस्रो भए। उक्त दुरी पार गर्न उनलाई ८ घन्टा २२ मिनेट लागेको थियो।

सोलुखुम्बु महाकुलुङ– २ का किरण कुलुङले भने तेस्रो स्थान हासिल गरे। ९ घन्टा १७ मिनेटमा उनले निर्धारित दुरी पूरा गरे। उनीहरुले २०१६ को म्याराथनमा समेत सहभागिता जनाएका थिए।
महिलातर्फ प्रथम सोलु दुधकोसी गाउँपालिका– १ की पूर्णिमा राईले भने १० घन्टा ४२ मिनेट खर्चिनुपर्यो।
संसारकै उच्च भूभाग सगरमाथा क्षेत्रमा आयोजना भएको म्याराथनमा यस वर्ष ११ नेपाली सहित १५ विदेशीले सहभागिता जनाएका थिए।
सुमन सन् २०१६ र २०१४ मा ४२ किमिको एभेरेस्ट म्याराथनमा तेस्रो भएका थिए। भारी बोकेर उकालो ओरालो गर्ने बानीले आफूलाई जित सम्भव तुल्याएको उनले प्रतिक्रिया दिए। 'ठूलाठूला अक्करे भीर, हिमाली भू–खण्ड दौडिनु अन्यत्र दौडिनुभन्दा निकै्र चुनौतीपूर्ण भए पनि जित हासिल गर्दा गौरव महसुस भएको छ,' उनले भने।
विजेताहरुले क्रमशः १ लाख, ५० हजार र २५/२५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।
म्याराथनमा जर्मनी, अमेरिका, रसिया, सिंगापुर, मलेसिया, युके्रन, लेबनान, क्यानाडा, अस्ट्रेलिया, नेरदल्यान्ड्स, स्लोभानिया लगायतका नागरिकले भाग लिएका थिए।
'बिरुवा रोपौँ, हरियाली बढाऔँ' भन्ने मूल नाराका साथ पर्यावरणको संरक्षण तथा जागरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रोयल पेन्गुइन अल्ट्रा म्याराथनकी कार्यक्रम निर्देशक मिङ्मा याङ्जी शेर्पाले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।