काठमाडौं– रुसमा भएको अघिल्लो विश्वकपमा फुटबलभन्दा बढी दुई राजनीतिक व्यक्तिले चर्चा पाए। उनीहरू थिए फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन र क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर कितारोभिच।
कारण, आ–आफ्नो टोलीलाई हौसला बढाउन राष्ट्रपतिद्वय म्याक्रोन र कोलिन्डा रंगशालामै पुग्ने गर्थे।
संयोगवश सो विश्वकपमा फ्रान्स र क्रोएसियाले उत्कृष्ट प्रदर्शन गरेका थिए। दाबेदार मानिएको फ्रान्स फाइनलमा पुग्नु स्वाभाविकै थियो। तर, ‘अन्डरडग’ भनिने गरेको क्रोएसिया पनि फाइनलमा पुग्यो।
फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ ले हराउँदै उपाधि जित्यो। म्याक्रोनले खुसी मनाए। अर्कोतिर पराजित भएपछि कोलिन्डा भावुक बनेकी थिइन्। पछि त्यो भावुकतामा म्याक्रोनले पनि साथ दिएका थिए।
खेल दौरान दुई राष्ट्रपतिबीच अन्य रोमाञ्चक दृश्यहरू पनि देखिएका थिए। पानी परिहेको थियो। सोही पानीमा भिज्दै उनीहरूले एकअर्कासँग अंकमाल गर्दै कुराकानी गरेका थिए।
आफ्नो टोली क्रोएसिया हारेपछि रोइरहेका खेलाडीलाई सान्त्वना दिन राष्ट्रपति कोलिन्डा मैदानसँगै ड्रेसिङ रूमसम्म पुगेकी थिइन्।
कतारमा जारी विश्वकपमा फ्रेन्च टोली लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा पुग्दा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन साक्षी बनिरहेका छन्।
बुधबार राति सम्पन्न सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै दुई पटकको विजेता फ्रान्स सेमिफाइलमा प्रवेश गर्दा म्याक्रोन खेल भइरहेको अल बयात रंगशालामै थिए।
खेलको पाँचौ मिनेटमा नै थिओ हर्नान्डेजले गोल गर्दा उनले उठेर ताली बजाएका थिए। फेरि ७९ मिनेटमा रान्डल कालो मुइनीले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पार्दा उनी झनै खुसी देखिए।
अर्कोतिर, यो पटक पनि राम्रो पर्दशन गर्दै क्रोएसिया सेमिफाइनलमा पुगेको थियो। अझै तेस्रो स्थानका लागि प्ले अफ खेल्दैछ। तर, यो पटक आफ्नो टोलीको हौसला बढाउन कोलिन्डा आएकी छैनन्। कारण, उनी सन् २०२० मै राष्ट्रपतिबाट हटेकी छिन्। कोलिन्डा सन् २०१५ मा क्राेएसियाको राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।