काठमाडौं– काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा ८ जना पक्राउ परेका छन्। 
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो।
‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं’ भन्दै उनीहरुले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि पक्राउ गरी अनुसन्धान भइरहेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए।
पक्राउ पर्नेहरुमा पूर्वी नवलपरासीका मिनबहादुर विश्वकर्मा, अछामका सागरजंग लुहार र दुधकला विश्वकर्मा, पाँचथरकी सृजना भट्टराई, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, नुवाकोटकी अञ्जना तामाङ तथा कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन्। 
उनीहरुको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटरप्याड, नगदी रसिदसहित ५ लाख ८ हजार ६४० रुपैयाँ पनि बरामद गरिएको एसएसपी बोहराले बताए।
उनीहरुमाथि प्रहरीले ठगी र किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ। अहिले पीडितहरुको उजुरी लिने काम भइरहेको प्रहरीले जनाएको छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।