तस्बिरहरू : निमेषजंग राई/नेपाल लाइभ।
                                        
                                    
                                                             
                            
                            काठमाडौं– गत मंगलबार ७ बजेतिर बिजुलीबजारको पुलछेउ घर फर्किने यात्रुहरु गाडी कुरिरहेका थिए। बा ४ ख १२३० नम्बरको शुभकामना यातायातको बस कलंकीका लागि आयो। बसका सहचालक ‘..कालीमाटी, स्वयम्भु, कलंकी’ भन्दै यात्रु बोलाउन थाले। 
बस बानेश्वरतिरबाटै खचाखच भरिएर आएको थियो। तर, पनि बस कुरिरहेका यात्रुहरु त्यसमा चढ्नुको विकल्प थिएन। सिट पाउने सम्भावना पनि थिएन। जसरी तसरी खुट्टा टेक्ने ठाउँ खोजेर उनीहरु बसमा कोचिए।
‘छिटोछिटो गर’ भन्दै चालक सहचालकलाई झपार्दै थिए। सहचालकलाई भने मान्छे धेरै जना अटाउनु थियो। ‘अलि पछि सर्नुस् न। दुईतिर फर्केर मिलेर बस्नुस्’, सहचालक रुखो सुनिए, ‘कस्तो नटेरेको? पछाडी त्यत्रो ठाउँ छ।,’ 
एकैछिनपछि त्यहाँबाट बस गुड्यो। थापाथली क्याम्पस अगाडि पुगेपछि एक महिला ओर्लिनु पर्ने रहेछ। ‘भाइ यहाँ रोकिदिनुस् म यहाँ झर्ने हो’, उनले भनिन्। 
‘छिटो आउनुस् छिटो, कस्तो पछाडी नै बसेको? झर्ने ठाउँ आउन लागेपछि ढोकामा आएर भाडा दिँदै गर्नुपर्छ नि?’, सहचालक झन् रुखो सुनिए।
उनी एक सय रूपैयाँको नोट दिँदै झरिन्। उनी जडीबुटीदेखि चढेकी रहेछन्। सहचालकले २५ रुपैयाँ भाडा कटाएपछि ती यात्रु झोक्किइन् । आफू पटक पटक २० रुपैयाँमा ओहरदोहर गर्ने गरेको सुनाइन्। भाडाका विषयमा एकछिन गलफती चल्यो। खासमा जडीबुटीदेखि थापाथलीसम्मको राज्यले तोकेको भाडा १८ रुपैयाँ हो। तर, यात्रुहरुले २० रुपैयाँ चाहिँ सहजै तिर्ने गरेका छन्। 
‘म सँधै २० रूपैयाँ तिरेर हिँड्ने गरेकी छु। तिमीले चाहिँ बाठो बनेर बढी लिइहाल्नु पर्छ?’, उनले भनिन्, ‘कस्तो मनलाग्दी भनेको। अरुले २० कटाउँछ, तिमी २५ काट्ने। गाडी अनुसार फरक लिने गरेको छ भाडा पनि?,’ 
‘यस्ताले त आफ्नै गाडी किनेर चढ्नु नि, किन यो बस चढ्नु? सहचालक रुखो मात्र होइन गैरजिम्मेवार बने।
‘ए हल्ला नगर न अर्काे १७ नम्बर आइसक्यो छिटो आइज,’ चालकले गाडी अघि बढाए। महिला झोक्किँदै थिइन्। अन्ततः सहचाकले ५ रूपैयाँ फिर्ता गरे। एक जना झरेको थापाथलीबाट चार जना यात्रु थपिए। 
1670747750.jpg)
गाडी केही मिनेटमा त्रिपुरेश्वर पुग्यो। सहचालक फेरि यात्रु बोलाउन थाले। त्यहाँ दुई जना यात्रु झर्ने रहेछन्। अन्तिम सिटमा बसेकाले उनीहरुलाई झर्न सकस परिरहेको थियो। ठेलमठेल गर्दै उनीहरु बसको ढोकातिर पुगे।
‘अघि नै ढोकामा आएर भाडा दिँदै गर्नु पर्छ नि?’, यहाँपनि सहचालकले पुरानै संवाद दोहोर्याए।
दुई जना यात्रु झरेको त्रिपुरेश्वरबाट केही यात्रु थपिए। गाडी चालकलाई अर्को गाडी उछिन्ने हो कि भन्ने पीर थियो। किनकी उनलाई अगाडिको स्टेशनमा कुरिरहेका यात्रु आफ्नो गाडीमो ‘कोच्नु’ थियो।
‘टेकु हस्पिटल झर्ने र भन्सार झर्नेले अगाडि आएर भाडा दिँदै गर्नुस् है। फेरि ढिला गर्ने होइन’, सहचालकले फर्मान् जारी गरे।
पछिल्लो सिटमा रहेका एक अपाङ्गता भएका व्यक्ति खुट्टा खोच्याउँदै बल्लतल्ल ढोकासम्म पुगे। कोटेश्वरबाट बस चढेका उनी टेकु अस्पताल अगाडि ओर्लिने रहेछन्। सहचालकलाई भाडा बुझाएर ढोकानेर उभिए। उनलाई उभिन निकै कठिन भइरहेको थियो। खुट्टाको भरले भन्दा उनी हातको भरले उभिएका थिए।
अर्की युवती टेकु भन्सार नजिक झर्ने रहिछन्। अगाडि आएर सहचालकलाई भाडा दिइसकेकी थिइन्। तर, टेकुबाट यात्रु थपिएपछि उनी फेरि पछाडि धकेलिइन्। बस टेकु भन्सारको बिसौनीभन्दा थोरै अगाडि पुगेको थियो।
उनी ‘भन्सार झर्ने छ  है’ भन्दै थिइन्। 
‘यहाँ ट्राफिकले रोक्न दिँदैन। अघि नै भन्नु पर्छ नि? रोक्ने ठाउँ कटिसक्यो’, बसका चालकले पनि झर्कोलाग्ने जवाफ दिए। 
‘भन्सार झर्ने भनेर मैले अघि नै भाडा दिएको होइन? कस्तो हो? यहाँ रोक्नु पर्दैन?’, उनी रिसाइन्। तर, चालकको गाडीमा ब्रेक लगाएनन्। 
बसभित्रका अरु यात्रुले पनि ‘मिलाएर रोकिदिनुस् न थोरै अगाडि त छ नि’ भन्दै थिए। तर, चालकले टेर्ने कुरै भएन। गाडि अघि बढाइरहे।
बस केहीबेरमा कालीमाटी पुग्यो। कालीमाटीमा सँधैजसो बस रोक्ने ठाउँमा ट्राफिक प्रहरीले रोक्न दिएन। झण्डै सोल्टीमोड पुगेपछि चालकले बस रोकेर ती युवतीलाई झर्न भने। 
‘भाडा फिर्ता देऊ अब। मलाई हिँडेर आधा घण्टा लाग्छ भन्सार पुग्न’, ती युवतीले सहचालकलाई झपारिन्। 
‘जाउँ जाउँ गुरु’ भन्दै सहचालक ढोका ढ्यापढ्याप पार्न थाले।
त्यही बसको महिला सिटमा बसेका थिए कलंकी बस्ने अञ्जली मगर र रोनिता थापा। उनीहरु कोटेश्वरको एक सपिङ सेन्टरमा सँगै काम गर्छन्। पाँच वर्षदेखि दैनिक यसरी नै कोटेश्वर आउ–जाउ गरिरहेको उनीहरुले सुनाए।
‘बसले मान्छे चढाउन जहाँ पनि रोक्छ। अटाइ–नअटाइ मान्छे कोचेर लान्छ। तर, ओराल्ने बेलामा हतारो छ। झर्नुपर्ने ठाउँभन्दा अन्यत्रै पुयाइदिन्छन्’, अञ्जलीले भनिन्।
रोनिताले थपिन् ‘त्यतिमात्रै हो र? पुग्ने ठाउँ आउन आधी बाटो हँुदा नै सिटबाट उठेर भाडा ठीक पार्दै बस्नुपर्छ। गाडी चढ्ने बित्तिकै कसरी झर्ने भन्ने टेन्सन हुन्छ।’
०००
काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५ को परिच्छेद ५ को दफा १३ परिचालकको कर्तव्यको उपदफा (१) अनुसार सार्वजनिक यातायात सेवा सञ्चालनमा संलग्न परिचालकले यात्री, चालक तथा अन्य व्यक्तिसँग शिष्ट, शालीन र सभ्य व्यवहार गर्नुपर्ने व्यवस्था छ।
उक्त ऐनमा थप भनिएको छः
उपदफा (१) बमोजिम सार्वजनिक यातायात सेवा सञ्चालनमा संलग्न परिचालकले देहायका कार्य गर्नु हुँदैन 
(क) यात्रीसँग निर्धारितभन्दा बढी रकम असुल गर्ने,
(ख) टिकट दिन इन्कार गर्ने,
(ग) रकम फिर्ता गर्न आलटाल गर्ने,
(घ) यात्रीसँग अशिष्ट भाषामा कुरा गर्ने,
(ङ) निर्धारित पोशाक नलगाई सार्वजनिक यातायातको साधनमा परिचालकको काम गर्ने,
(च) सवारी साधनमा मदिराजन्य र सुर्तीजन्य पदार्थको सेवन गर्ने,
(छ) यौनजन्य दुव्र्यवहार गर्ने,
(ज) कानुनले निषेध गरेका अन्य कार्यहरु गर्ने।
यस्ता कार्य गरेको पाइएमा दफा १३ को उपदफा (२) को खण्ड (क) देखि (घ) सम्मको कसूर गर्ने परिचालकलाई पहिलो पटकको लागि एक हजार र दोश्रो पटकदेखि दुई हजार जरिवाना हुने व्यवस्था रहेको छ।
1670747746.jpg)
तर, काठमाडौं महानगरभित्रका सवारी साधनमा त्यस्तो ऐन तथा नियम लागू भएको देखिँदैन। धेरैजसो यात्रुहरु यात्रा गर्ने क्रममा सकस भोग्नुपरेको बताउँछन्।
बानेश्वरकी  सरिता लामिछाने दैनिकजसो सार्वजनिक यातायातमा यात्रा गर्छिन्। उनी सार्वजनिक यातायातमा यात्रा गर्दा चढ्नेबित्तिकैदेखि कसरी झर्ने, कहाँ पो लगेर ओराल्छ? झर्ने भन्दा परै पो पुयार्उने हो कि भन्ने तनाब हुने बताउँछिन्। 
‘गाडीको गति उस्तै हुन्छ। गन्तव्यमा पुग्नुभन्दा अघिदेखि उभिनु पर्ने हामीलाई त कति गाह्रो हुन्छ? अपाङ्गता भएका र वृद्धावस्थाका व्यक्तिलाई कति सकस पर्ला?’ उनले भनिन्।
कलंकीकी सपना तामाङ पनि सार्वजनिक यातायातका चालक र सहचालकले गर्ने व्यवहारदेखि दिक्दारी लाग्ने बताउँछिन्।
‘अर्काे गाडीले उछिनेर सबै मान्छे हाल्छ, आफूले पो यात्रु नभेटिने हो कि भन्ने चिन्ताले हामीलाई दुःख दिइरहेका हुन्छन्। मान्छे चढाउनु छ भने जहाँबाट पनि चढाउँछन्। झार्ने बेलामा अघिदेखि रेडि हुनु पर्ने रे। कम्ता गाह्रो छ’, सार्वजनिक यातायातमा दैनिक भोग्ने सास्तीलाई उनले संक्षेपमा सुनाइन्।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।