झापा– ‘कृषि अनुदान उपलब्ध गराइदिन्छु’ भन्दै इलामका कृषकबाट २० लाख रुपैयाँभन्दा बढी ठगी भएको छ।
इलाम घर बताउने विनोद राईले डेनमार्क सरकारबाट प्राप्त कृषि अनुदानको प्रलोभन देखाएर इलामका रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका २८ जना कृषकबाट उक्त रकम ठगी गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जनाकारी दिए।
'कृषकलाई बंगुरपालन, कुखुरापालन, गाईपालन, अलैँची खेती लगायतका शीर्षकमा अनुदान मिलाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको छ,' प्रहरी निरीक्षक विष्टले भने, 'मोटो रकमको प्रलोभन देखाएर ठगी गरेको पाइएको छ।'
पीडक विनोद राईले आफ्नो नाम, ठेगाना गलत बताएको पनि प्रहरी निरीक्षक विष्टले बताए। 'हामीले राईको परिचयपत्र फेला पारेका छौं,' विष्टले भने, 'अनुसन्धान भइरहेको छ, छिट्टै दोषीलाई पक्राउ गर्छौं।'
गत शुक्रबार विर्तामोडमा कृषकलाई बोलाएर प्रतिव्यक्ति २० हजारदेखि एक लाख रुपैयाँसम्म लिएर विनोद राई फरार भएको पीडित पुरन राईले बताए।
उनले भने, 'डेनमार्क सरकारले अनुदान दिन्छ भनेर राम्रो कृषकको खोजी गर्दै विनोदले एक महिनासम्म लगातार आएर अलैँचीका विरुवाको उचाइ, गोलाइ नाप्ने गरेका थिए। हामी विश्वासमा पर्यौंग, मान्छे ठग रहेछ थाहै पाएनौं।'
कृषि उत्पादनको बृहत् योजना बाँड्दै बसेका राईले अनुदानका लागि आफैँले अशायपत्र (प्रपोजल) समेत बनाइदिएका थिए। त्यसबापत हरेक किसानबाट ५ सय रुपैयाँ शुल्क लिएको पीडित पुरनले बताए। विनोदले अशायपत्र स्वीकृत भएका किसानले तीन प्याकेजमा ३ लाख, ६ लाख र १२ लाख रुपैयाँ अनुदान पाउने आश्वासन दिएका थिए।
अनुदानबापत किसानले अग्रीम २० प्रतिशत रकम बुझाउनुपर्ने शर्त थियो। सोही शर्तअनुसार कृषकले रकम बुझाएका हुन्। किसानले बुझाएको रकम लिएर राई फरार भएपछि पीडितले इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका हुन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।