काठमाडौं– निर्वाचन आयोगले बाजुरामा मतगणना गर्ने निर्णय गरे पनि अझैं मतगणना हुन सकिरहेको छैन।
आयोगको निर्णयपछि सर्वदलीय बैठक बोलाएको थियो। बैठकमा नेकपा एमाले उपस्थित नभएपछि बैठक निष्कर्षविहीन भएको हो।
मतगणनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाए पनि एमाले नआएपछि बिहीबार बिहान ७ बजे पुनः बस्ने र बैठकमा एमालेलाई समेत आह्वान गर्ने निर्णय गरिएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताए।
अनेरास्ववियुका विद्यार्थी नेता चेतन अयडीका हत्यारा पक्राउ गर्ने, विनाकारण पक्राउ गरिएका अनेरास्ववियुका ११ जना विद्यार्थी नेतालाई तत्काल रिहाइ गर्न माग गर्दै एमालेले अनसन जारी राखेको छ।
एमालेले भने प्रमुख जिल्ला अधिकारी र सुरक्षा समितिसँग भएको सहमति कार्यान्वयन नभएसम्म सर्वदलीय बैठकमा सहभागी नहुने अडान लिएको छ।
मंसिर ४ गते निर्वाचनका क्रममा जिल्लाको त्रिवेणी नगरपालिकाको नाटेश्वरी बुथ केन्द्रमा झटप हुँदा प्रहरीको गोली लागेर सञ्जीव अयडी र सोही घटनापछि विद्यार्थी नेता चेतन अयडीको हत्या भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।