काठमाडौं– सांगीतिक समूह नेपथ्यले देशभर संगीत यात्रा गर्ने भएको छ। यसै साताबाट सुरु हुने महिना दिन लामो राष्ट्रव्यापी सांगीतिक यात्राका लागि नेपथ्यको तयारी पूरा भएको जनाइएको छ।
‘हाम्रा आ–आफ्ना विचार, आस्था र मान्यताले गर्दा चुनावमा स्वाभाविक तवरले जताततै मतान्तरका घेरा कोरिएको हुनुपर्छ,’ एक महिना लामो सांगीतिक देश दौडाहमा निस्कनुअघि नेपथ्य ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘अब फेरि सिंगो समाज एउटै सुत्रमा गाँसिनु जरुरी छ, जसलाई संगीतले मद्दत गर्न सक्छ।’
अमृतका अनुसार मुलुक सशस्त्र द्वन्द्वमा फँसेको बेला नेपथ्य ब्याण्ड सरिक भइ ‘सुन्दर शान्त नेपाल’ र ‘शान्तिको लागि शिक्षा’ जस्ता अभियान चलाइएको थियो। त्यस अभियानले भयावह स्थितिमा पनि समाजलाई जोड्न मद्दत गर्छ भन्ने अनुभव उनलाई दिएको थियो।
‘अघिल्ला दिनहरु हामीले जताततै पार्टीका झण्डाहरु देख्यौं,’ अमृत थप्छन्, ‘यो साताबाट सुरु हुने नेपालभरिको यात्रामा सम्पूर्ण दर्शकहरु रातो र चन्द्र सूर्यको झण्डा बोक्दै नाचेको हेर्न म आतुर छु।’
देशको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसैसाता काठमाडौंबाट बाहिरिने भएको छ। ब्याण्डको पहिलो प्रस्तुति मंसिर १६ गते विराटनगरमा हुनेछ। त्यसपछि क्रमशः पश्चिमतर्फ लाग्ने नेपथ्य टोलीले अन्तिममा काठमाडौं फर्केपछि पुस १६ गते भृकुटीमण्डपमा प्रस्तुति दिनेछ।
यसपटक नेपथ्यले देश दौडाहका क्रममा सांगीतिक मनोरञ्जनको योजना मात्र बोकेको छैन। मानवताको प्रवर्द्धनका लागि आफूलाई मञ्चहरुमा उभ्याउने अठोट बोकेको गुरुङले बताए। नेपथ्यले सडकमा रहेका असहायहरुका निम्ति आश्रय थलो उभ्याउन कन्सर्टकै माध्यमबाट सहयोगसमेत जुटाउनेछ।
आफ्ना गीतहरुलाई ‘मानवता प्रवर्द्धन अभियान’सँग जोड्नका लागि नेपथ्यले मुलुकभर फैलिएको सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।