काठमाडौं– नेकपा एमालेले निर्वाचन आयोगलाई ध्यानाकर्षण पत्र पठाएको छ। उसले विभिन्न चार जिल्लाका केही मतदान केन्द्रमा पुनः मतदान गराउन माग गरेको छ। एमालेको पत्रसहित महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल तथा निर्वाचन विभागका उपप्रमुख नीरज आचार्य सोमबार आयोग कार्यालय पुगेका थिए।
आयोगले आइतबार मात्रै दोलखाका विभिन्न दश मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय लिएको थियो। एमालेले दोलखाकै त्यसका अतिरिक्त अन्य मतदान केन्द्रमा पनि पुनः मतदानको माग गरेको छ। ’यसक्रममा आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदानको आदेश भएको रहेछ। हाम्रो उम्मेदवारले माग गर्नुभएको अन्य कब्जा भएका स्थानहरू कालिञ्चोक– १ स्थित बेगुम्पा मतदान केन्द्र क र ख, शैलुङ्ग गाउँपालिका वडा नम्बर २ भुसाफेदा नवीन मावि मतदान केन्द्रमा स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नभएको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश गरिनुपर्दछ’, एमालेले पत्रमा भनेको छ।
स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ३ दिसिङ्गकोट आधारभुत मावि कमेरे, वडा नं ४ को राम मन्दिर मा.वि. दार्सिङ्ग नरसेवा र ऐ को वडा नं ५ जनसक्रिय आधारभुत विद्यालय चिठ्ठी पोखरी र दिनदयालु आधारभुत विद्यालय साटीमुरेका सबै मतदान केन्द्रमा बुथकब्जा भएको, मृत्यु भएका र विदेशमा रहेका मतदाताको नामबाट मतदान भएको कारण स्वतन्त्र, निस्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश हुनुपर्ने एमालेको माग छ।
यसरी नै बाजुरा जिल्लाका कतिपय मतदान केन्द्र र उदयपुर– १ मा कतिपय मतदान केन्द्रमा पनि पुनः मतदानको व्यवस्था गर्न एमालेले माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।