काठमाडौं- हुम्ला प्रदेश सभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार विजयी भएका छन्। आफ्ना निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीलाई पराजित गर्दै उनी सांसद चुनिएका हुन्।
परियारले ६ हजार ४८१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीले ४ हजार ६३० मत प्राप्त गरे। निर्वाचन आयोगका विवरण अनुसार ‘क’ मा प्रदेश सभा सदस्यका लागि ५ जना उम्मेदवार थिए। परियारले १ हजार ८५१ मतान्तरमा जित निकाले।
त्यस्तै एमालेका दल फडेराले २ हजार ९९ मत प्राप्त गरे। एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ७८८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छापे ऐडीले ११७ मत प्राप्त गरे।
यो जितसँगै परियारले हुम्लाबाट पहिलो पटक दलित सांसद बन्ने इतिहास बनाएका छन्। उनी कर्णाली प्रदेशबाटै दलित समुदायका एक्लो सांसद बनेका छन्। कुनै पार्टीबाट पनि अहिलेसम्म दलित समुदायबाट सांसद बनेका थिएनन्। संवैधानिक अंग राष्ट्रिय दलित आयोगमा भने मेहल पार्की सदस्य रहेका छन्। पार्की राजनीतिक नियुक्तिबाट त्यहाँसम्म पुगेका हुन्।
महिनाको ५० रुपैयाँ छात्रवृत्तिबाट अध्ययन
रनसिंहको घर हुम्लाको अदानचुली गाउँपालिका– १ कल्खे भन्ने गाउँमा हो। उनको बाल्यकाल गाउँमै बित्यो। अति गरिब परिवारमा जन्मे–हुर्केका रनसिंह इतिहास रच्दै जिल्लाबाट आफ्नो समुदायको सांसद बनेका छन्।
२०३३ सालमा जन्मेका नरसिंह परिवारको बाँच्ने आधार पुख्र्यौली दर्जी पेसा हो। घरमा बाजे–बाका पालादेखि नै लुगा सिलाउँदै आएको उनको परिवार खलोबाट उठेको अन्नबाट परिवार पाल्थ्यो। जग्गा–जमिन थिएन। तर नरसिंहले परिवारमा विद्रोह गरेर पढे।
उनको परिवारमा कोही विद्यालय गएका थिएनन्। पढाउनुपर्छ भन्ने चेत थिएन। दलितलाई पढ्न सहज पनि थिएन। जातिय छुवाछुतले समाज आक्रान्त थियो। तर पनि उनले गाउँकै दलित समुदायको एक्लो विद्यार्थीका रुपमा विद्यालयमा पाइला टेके।
गाउँघरमा गोरु चराउँदाका गैरदलित साथीहरु स्कुल जान्थे। उनलाई पनि जान मन लाग्यो। मन लागेर मात्र कहाँ हुन्थ्यो र? घरमा गोरु–बाख्रा हेर्न लगाउँथे। उनी भागेर स्कुल गए, साथीहरुको पछिपछि लागेर।
रनसिंहले प्राथमिक शिक्षा गाउँकै जनकल्याणमा लिए। त्यो बेला कापी–कलम हुँदैनथ्यो। कालोपाटीमा खरीले लेखेर कखरा जाने। ‘घरमा कापी–कलम किन्ने पैसा हुँदैनथ्यो। खानै धौधौ हुन्थ्यो, कहाँबाट किन्नु कापी कलम,’? उनी सुनाउँछन्। कक्षामा उनी एक्लो दलित थिए। उनी मुनिका भाइ–बहिनी कसैले पढ्न पाएनन्।
उनी राम्रो पढ्थे। स्कुलमा जेहेन्दार विद्यार्थीका रुपमा कहलिए। जिल्लामा दलित जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने संस्था आयो। जिल्ला शिक्षा कार्यालयको समन्वयबाट उनले महिनाको ५० रुपैयाँ पाउन थाले। त्यही पैसाले कापी–कलम किने। र, पढ्दै गए।
रनसिंह भन्छन्, ‘त्यो ५० रुपैयाँ छात्रवृत्ति नपाएको भए आज यो अवस्था हुँदैनथ्यो,’ उनले भने। त्यही छात्रवृत्तिले उनी १० कक्षासम्म पुगे। २०४८ सालमा एसएलसी दिए र पास गरे। त्यसपछि पढाइ रोकियो।
घरमा आर्थिक संकट थियो। हुम्ला त्यसै पनि विकट जिल्ला हो। आजसम्म पनि मोटर–गाडी सजिलै पुग्न सकेको छैन। त्यो समय कस्तो अवस्था थियो होला सहजै अनुमान गर्न सकिन्छ। उनी दलित समुदायको धेरै पढेको व्यक्ति बने। त्यसपछि भने पढाउन सुरु गरे।
सरकारी शिक्षक जागिर छाडेर जनयुद्धमा
स्थायी शिक्षकका रुपमा रनसिंहले २०४९ देखि २०५९ सालसम्म पढाए। हुम्लाकै हिमाली प्रावि, चंखेली प्रावि र छत्रमान प्राविमा अध्यापन गरे। तर एक दशकको सरकारी जागिर छाडेर उनी भूमिगत राजनीतिमा लागे।
२०४६ सालमा भएको बहुदलको आन्दोलनले उनमा राजनीतिक चेत खुलेको हो। उनले तत्कालीन एमाले निकट अनेरास्ववियुबाट राजनीति थालेका हुन्। विद्यार्थी जीवनमा उनी राजनीतिमा होमिएका थिए। उनले प्लस टु भने पछि सूर्योदय उच्च मावि श्रीनगरबाट गरे।
२०४५ सालमा कक्षा ७ मा अध्ययन गरिरहँदा नै सूर्याेदय मावि श्रीनगरमा नेकपा मालेको अनेरास्ववियु सदस्य बने। २०४६ सालमा अनेरास्ववियुको सूर्योदय माविको सचिव पदमा रहेर काम गरे। २०५८ सालदेखि गाउँ कमिटीको सदस्य तथा अखिल नेपाल शिक्षक संगठनको जिल्ला कमिटी सदस्य भएर काम गरे।
रनसिंहले माओवादी जनयुद्धलाई नजिकबाट हेरेका थिए। दुर्गमका वस्ती–वस्तीमा माओवादीको प्रभाव परेको देखे। शिक्षक पेसामा रहँदै पनि विभिन्न तवरबाट सहयोग गरेका थिए उनले। समाजमा भोगेका अनेक विभेदले पनि उनलाई माओवादी आन्दोलनले आकर्षित गर्यो।
२०५२ फागुन १ गतेदेखि माओवादी युद्ध सुरु भएपछि उनले सात वर्षसम्म भूमिगत जीवन बिताए। तत्कालीन माओवादी र सरकारबीच १२ बुँदे सम्झौता भयो। कोही लाखापाखा लागे। कसैले पुरानै जीवन अपनाए। रनसिंह भने राजनीतिमा झन् सक्रिय भए। मुक्तिमोर्चाका विभिन्न संगठनमा काम गरे।
२०६५ सालमा नेकपा माओवादी भेरी कर्णाली राज्य समिति सदस्य, २०७० सालमा नेपाल दलित मुक्तिमोर्चा थारूवान प्रदेश संयोजक, पार्टी केन्द्रीय भेला आयोजक सदस्यको जिम्मेवारी समेत उनले सम्हालेका छन्। उनले मोर्चाका विभिन्न पदमा संलग्न रहँदै दलितका मुद्दा उठाउँदै आएका छन्। २०७३ सालमा नेपाल दलित मुक्तिमोर्चाको केन्द्रीय सदस्य र कर्णाली प्रदेश सहसयोजकका रुपमा काम गरिसकेका छन्।
एमालेसँग पार्टी एकता भएपछि नेकपा बन्यो। एकता भएसँगै नेकपाको कर्णाली प्रदेश सदस्यको जिम्मेवारीमा रहेर काम गरे। पार्टीका विभिन्न समयमा विभिन्न पदीय जिम्मेवारी सम्हालेको उनको अनुभव छ। तर पनि पार्टीले भने दलितलाई चुनावमा उठाउन आनाकानी गरेको आरोप उनको छ। दलित, महिला भन्ने वित्तिकै हार्छन् भन्ने भाष्य स्थापना गरिसकेको उनको भनाइ छ।
यो निर्वाचनमा रनसिंह प्रदेश सभाको प्रत्यक्षतर्फ पहिलो पटक उम्मेदवार बने र जित निकाले। २०६४ को पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक बन्द सूचीमा उनको नाम थियो। तर अन्तिम सूचीमा परेनन्। ‘नत्र हुम्लाले २०६४ मै दलित सांसद पाइसक्थ्यो,’ उनले भने।
बागीले पनि फरक परेन
रनसिंह माओवादीको वैकल्पिक केन्द्रीय सदस्य हुन्। उनको दावी प्रदेश सांसदमा थियो। हुम्लामा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि माओवादीको भागमा पर्यो। नेपाली कांग्रेसका नेता जीवन शाही मुख्यमन्त्रीको दावी सहित प्रदेशमा गए। जसले गर्दा सहजै माओवादीका पोल्टामा प्रतिनिधि सभा सदस्य पर्यो।
प्रदेशको भागभण्डा अनुसार हुम्ला प्रदेश ‘क’ माओवादीका भागमा पर्यो। ‘ख’ कांग्रेसका भागमा पर्यो। उसो त पार्टी नेतृत्वले दलितले हार्छन् भनेर टिकट दिन मानेन। उनी भन्छन्, ‘गठबन्धनमा पनि कोही गैरदलित भए सायद सजिलै स्वीकार्र्थे होला।’ पार्टी राजनीतिमा उनले २५ वर्ष बिताएका छन्। हुम्लामा कुनै पनि दलले दलित उम्मेदवार बनाएको छैन।
उनी माओवादीबाट सिफारिस भए। तर कांग्रेस र एकीकृत समाजवादी भने उनलाई स्वीकार्न तयार भएन। कांग्रेसका मंगलबहादुर शाहीले बागी उम्मेदवारी दिए। एकीकृत समाजवादीका तर्फबाट हस्तबहादुर शाहीले उम्मेदवारी दिए। गठबन्धन तोडियो। एमालेका तर्फबाट अदानचुली गाउँपालिकाका पूर्व अध्यक्ष दल फडेरा चुनावी मैदानमा थिए। उनलाई चौतर्फी चुनाती भयो।
गठबन्धन विना र बागीको चुनौतीबीच उनले चुनाव जिते। रनसिंह भन्छन्, ‘यो हुम्ली दलितहरुको हो। पहिलो पटक आफ्नो समुदायको सांसद पाउँदा सबै खुसी छन्।’
यसरी टिकट लिँदादेखि उम्मेदवारी दर्तासम्म विद्रोह गरेका रनसिंहले हुम्लाकै पहिलो दलित सांसद बन्न सफल भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।