काठमाडौं– निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न निर्वाचनमा भएको खर्च विवरण बुझाउन सम्बन्धित उम्मेदवार तथा दलहरूलाई निर्देशन दिएको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै ३५ दिनभित्र खर्च विवरण पेश गर्न भनेको हो।
‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र पेश गरेका उम्मेदवारहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४० बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेछ’, आयोगले प्रत्यक्ष तर्फका उम्मेदवारलाई निर्देशन दिएको छ।
यस्तै आयोगले दलहरूलाई निर्देशन दिंदै समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्दसूची पेश गरेका दलहरुलाई पनि ३५ दिन भित्र खर्च विवरण बुझाउन निर्देशन दिएको छ।
‘समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्दसूची पेश गरेका राजनीतिक दलहरुले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधि सभा सदस्यका लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची– ३४ र प्रदेश सभा सदस्यको लागि प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची– ३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नु पर्नेछ’, आयोगले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।