काठमाडौं– नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएको समस्याको समाधान गर्ने पहल भइरहेको जानकारी दिएका छन्।
उनले शुक्रबार एक कार्यक्रममा विश्व अर्थतन्त्र नै संकटबाट गुज्रिरहेको र नेपालले पनि त्यसको प्रभाव झेल्नु परेको बताउँदै अर्थतन्त्रका त्यस्ता समस्या समाधानको पहल भइरहेको बताएका हुन्।
उनले बाह्य तथा कतिपय आन्तरिक चुनौतीहरूको घेरामा मुलुकको अर्थतन्त्र रहेको र त्यसको समाधानका लागि सरकारसँग सहकार्य पनि भैरहेको बताए। सरकार र राष्ट्र बैंकको संयुक्त पहलकै कारण मुलुकको ब्यालेन्स अफ पेमेन्ट सकारात्मक बनेको पनि उनको भनाइ थियो।
संसारभर ब्याजदर बढ्ने अध्ययन प्रतिवेदनहरूको आइरहेको बताउँदै उनले नेपालमा पनि त्यस्तो सम्भावनालाई नकार्न नसकिने बताए।
अर्थतन्त्रको स्थायित्वका लागि संरचनागत सुधारको खाँचो रहेको पनि उनले औल्याए। आयात घटाएर निर्यात बढाउने उपायहरुको खोजी गर्नुको अर्को विकल्प नभएको उनले बताए।
अर्थतन्त्र छोटो अवधिको तरलता अभाव, स्रोतको अभाव र ब्याजदर स्थायीत्वको चुनौतीबाट गुज्रिरहेको पनि उनले दाबी गरे। यो समस्या नेपालमा मात्रै नभएर संसारभर व्याप्त भएको पनि उनले जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।