कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा कर्मचारी अभाव हुँदा चार वटा वडाको कार्य एउटै सचिवले सम्हाल्दै आएका छन्।
कर्मचारी अभावले अमिनको दरबन्दीमा नियुक्त हेमराज अवस्थीले वडा नं २, ३, ४ र ५ को वडासचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनका सहयोगीका रुपमा करारमा नियुक्त दुई जना महिला कर्मचारी भए पनि कार्य बोझ अधिक हुँदा सेवा दिन उनीहरुलाई निकै समस्या भएको छ।
'सेवाग्राहीको चाप अधिक हुँदा काम गर्न भ्याईनभ्याई भएको छ,' वडा सचिव अवस्थीले भने। सेवाग्राहीको अधिक भिडभाड हुने वडा नं ८, ९ र १० मा समेत एक जना मात्रै स्थायी कर्मचारी वडा सचिवका रुपमा कार्यरत छन्। यसैगरी, वडा नं ६, ७ र ११ का लागि समेत एक जना मात्रै सचिव छन्। कर्मचारी अभावले नगरपालिकाले तीन वटै ठाउँमा संयुक्त वडा कार्यालय सञ्चालन गरी सेवा दिँदै आएको हो।
वडा नं १ र १२ भने छुटृाछुटै वडा कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ। नगरपालिकाका १२ वटै वडा कार्यालय स्थापना गरी कार्य सञ्चालन गर्न कर्मचारी अभावले नसकिएको नगरप्रमुख दिलबहादुर ऐरले बताए।
कर्मचारीको तत्काल व्यवस्था गरिदिन प्रमुख जिल्ला अधिकारीलाई बारम्बार आग्रह गर्दै आए पनि कर्मचारी पाउन नसकिएको उनको भनाइ छ।
नगरपालिकामा हाल कार्यकारी अधिकृत एक, नायब सुब्बा एक, लेखा अधिकृत एक, लेखापाल एक, खरिदार तीन, प्राविधिक सहायक दुई, अमिन एक, कम्प्युटर सहायक एक र चार जना कार्यालय सहयोगी छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।