काठमाडौं– रुकुम पूर्वको प्रदेश ‘१’ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन(अजयशक्ति) निर्वाचित भए।
उनले नेकपा माओवादीका तेजबहादुर ओलीलाई पराजित गर्दै जित निकाल्न सफल भए। पुनले ४ हजार ४ सय ६५ मत ल्याउँदा माओवादीका ओलीले ३ हजार ९ सय ३२ मत प्राप्त गरे।
निर्वाचन आयोगका विवरण अनुसार उक्त क्षेत्रमा पाँच जना उम्मेदवार रहेका थिए। पुनले ५ सय ३३ मतान्तरले जित निकाले।
पुन नेकपा माओवादी केन्द्रका निवर्तमान लुम्बिनी प्रदेश कमिटी सदस्य पनि हुन्। उनले पार्टीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका हुन्।
उनलाई माओवादी केन्द्रका निवर्तमान लुम्बिनी प्रदेश कार्यालय तथा सदस्य भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढामगर (वीरता) लगाएतका नेताहरूको समर्थन थियो। पुनलाई जिताउन (१) नम्बर क्षेत्रमा एमालेका उम्मेदवार तेजेन्द्र बुढामगर (तेजिलो) ले समेत निष्क्रिय हुने सहमति गरेका थिए। जसकारण जित निकाल्न सहज भएको पुन निकटस्थ बताउँछन्।
१७ वर्षमा भूमिगत हुँदै जनसेना कमाण्डर
‘माओवादी जनयुद्ध’मा ०५२ फागुन १ गते सुरुल मगर भूमिगत भए। रुकुम पूर्वको भुमे गाउँपालिका–१ को अजयकोटमा जन्मेका सुरुल भूमिगतपछि अजयशक्ति भए।
त्यतिबेला उनी १७ वर्षका थिए। निम्नमध्यम परिवारमा जन्मेका उनले ८ कक्षासम्म पढे। आर्थिक अभावका कारण पढाइलाई अघि बढाउन सकेनन्। बाल्यकालमै गाउँमा भोग्ने जातीय उत्पीडनका ठूल्ठला पहाड उनले देखे।
रुकुम ‘जनयुद्ध’को उर्वरभूमि हो। त्यसमाथि युद्धमा होमिन कुनै कारण चाहिएको थिएन उनलाई। छरछिमेकका युवा होमिने लहर सुरु भएको थियो।
चरम आर्थिक चपेटामा परेका सुरुल पनि हातमा क्रान्तिको लाल झण्डा बोकेर युद्धमा जान तयार भए। ०५३ सालमा जब प्रहरीले उनीहरूको राइफल खोसे, त्यहाँदेखि उनी निसानामा परे। पटक पटक भिडन्तमा ठोकिए।
पटक पटक ज्यानको बाजी थापेर उनी क्रान्तिको मैदानमा उत्रिएका थिए। ‘त्यो बेला मृत्यु हाम्रा लागि सामान्य भएको थियो। सारा जीवन मुक्तिका लागि अर्पण गरेका थियौँँ,’ उनले भने।
त्यतिबेला अजयशक्ति जनमुक्ति सेनाको कमान्डरसमेत भए। माओवादी शान्ति प्रक्रियामा आएपछि उनी लामो समयसम्म माओवादी राजनीतिमा सक्रिय छन्।
६ वर्ष जति युद्धमा होमिएका उनी जनसेनाका रुपमा विभिन्न ठाउँ पुगे।
कर्णाली र सुदूरपश्चिमका कुना कुना पुगे। त्यही क्रममा उनी सोलुखुम्बु पुगे। कैलाली कञ्चनपुरका विभिन्न ठाउँमा उनको नेतृत्वमा क्याम्प खडा गरियो। कहिले तातो राप भएको तराई र कहिले थरथर कमाउने चिसो हिमालमा पनि पुगे।
आफ्नै पिसाब पिएर बाँचे
०५८ सालको कुरा हो। सोलुखुम्बमा उनी दोहोरो भिडन्तमा परे। उनी लडाइँमा घाइते भए। साथीहरूले मर्यो भनेर माया मारे, अनि एक्लै छाडिदिए। सुनसान जंगलमा अजयशक्ति मृतक घोषित भए। साथीहरूले लाश करार गर्दै भागे। ‘म त्यही जंलगमा बाँच्ने आशाको संघर्ष गरिराखेको थिएँ,’ उनले भने।
जीवन मृत्युको अन्तिम संघर्ष गरिराखेका अजयशक्तिले बाँच्ने अभिलाशा जगाएका थिए। ‘जंगली जनावरको सिकार नभए म बाँच्छु भन्ने थियो,’ उनी सम्झन्छन्।
साथीहरूले माया मारिसकेका अजयशक्ति मुक्तिका लागि फेरि उठे। उनले जीवन जोगाउन आफ्नै पिसाव पिए। ‘घना जंगलमा पानीले श्वास जोगाउँछ भन्ने सुनेका थिएँ। त्यहाँ पानी पाउने कुरा भएन। अनि पिसाब पिएँ र म बाँचे,’ उनी भन्छन्।
एक महिनासम्म अजयमुक्ति कसैको सम्पर्कमा आएनन्।
उनी पार्टी र संगठनका लागि शहीदको सूचीमा सूचीकृत भए। तत्कालीन माओवादीले श्रद्धाञ्जलीसभा गर्यो। परिवारले जेठो छोराको माया मारे। छोराले सहादात प्राप्त गरे भनेर मन बुझाए। उनी सबै सबैका लागि शहीद भए। तर आफ्ना लागि भने जीवित थिए।
एक महिनापछि पार्टी र परिवारको सम्पर्कमा आए। आफनो नाममा शहीदको सूचीमा देखेर झस्किए। आफैंले सूचीबाट नाम हटाए। त्यतिबेला बेपत्ता पारिएकाहरूको खोजी भएन। कोही जीवितहरू पनि शहीदको सूचीमा थिए।
उनी माओवादी शान्तिवार्तापछि सामान्य जीवनशैलीमा फर्किए। रगत पसिना बगाएका युवाहरूको उचित मूल्याङ्कन नभएको कुराले मनमा कता कता पीर थियो। तर, पनि माओवादी पार्टी राजनीतिमा निरन्तर लागेका थिए।
टिकट नपाएपछि माओवादीभित्रै विद्रोह
यसअघि अजयमुक्तिले कहिले पनि उम्मेदवार बन्ने लालसा देखाएनन्। ‘मैले कहिले पनि हस्तक्षेप गरिनँ। पार्टीलाई निरन्तर सहयोग गरेँ। कहिले पनि स्वार्थको पछि लागिनँ,’ उनी भन्छन्।
यो पटक उनले रुकुमपूर्व ‘१’मा उम्मेदवारको इच्छा देखाए। तर, माओवादीले उनलाई टिकट दिन तयार भएन। त्यसपछि भने उनले माओवादी भित्रै विद्रोह गरे।
अन्ततः जित हासिल गरे। ‘युद्धको रणभूमिमा मुक्तिका नारा लगाएको मलाई पार्टीले उपेक्षा गरेको महशुस भयो, त्यसकारण विद्रोह गरेर उठेँ। जनताले जिताउनुभयो। मुक्तिका लागि सधैँ लडिरहन्छु,’ उनी सुनाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।