काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ।
प्रत्यक्षतर्फ नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३ क्षेत्रमा जित हासिल गर्दै अग्रस्थानमा छ भने नेकपा (एमाले) एक क्षेत्रमा जित हासिल गर्दै दोस्रो स्थानमा छ। निर्वाचन आयोगका अनुसार कांग्रेस ३४ स्थान र एमाले ३२ स्थानमा अग्रस्थानमा छन्। साथै, नेकपा (माओवादी केन्द्र) ९, राष्ट्रिय स्वतन्त्र पार्टी ८, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र अन्यले १९ स्थानमा अग्रता कायम गरेका छन्।
प्रत्यक्षतर्फ अग्रस्थानमा रहेको कांग्रेस समानुपातिकतर्फ भने दोस्रो स्थानमा छ । निर्वाचन आयोगका अनुसार एमालेले हालसम्म २३ हजार ३७४ मत प्राप्त गरी शीर्ष स्थानमा छ भने कांग्रेस २१ हजार ९४९ मतसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ५०५ मत प्राप्त गर्दा माओवादी केन्द्रले आठ हजार ३९८ मतका साथ चौथो स्थानमा छ।
आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार ४७६, जनता समाजवादी पार्टी नेपालले दुई हजार ९८, जनमत पार्टीले एक हजार ६४८ मत र नेपाल मजदुर किसान पार्टीले एक हजार ६०० मत प्राप्त गरेका छन्। साथै, समानुपातिकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक हजार ३७५, नागरिक उन्मुक्ति पार्टीले ७६५ र अन्यले चार हजार ८६५ मत प्राप्त गरेका छन्।
प्रदेश सभाको समानुपातिकतर्फ पनि एमाले शीर्ष स्थानमा छ। एमालेले आठ हजार १२४ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले सात हजार ४११ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले दुई हजार ६७८ मत प्राप्त गरेको छ।
आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार १४८, जनता समाजवादी पार्टी नेपालले एक हजार ३७५ र अन्यले तीन हजार ८३ मत प्राप्त गरेका छन्।
विस्तृत विवरणका लागि लगइन गर्नुहोस्, https://election.nepallive.com/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।