काठमाडौं- देशभर आइतबार भएको मतदानको मतगणना जारी छ। देशका केही बाहेक सबै जसो क्षेत्रमा मतगणना जारी रहेको हो।
मतगणना जारी भएका सबै क्षेत्रको प्रारम्भिक मत सार्वजनिक भएका छैनन्। तर, उपलब्ध तथ्यांकले पुराना दलहरुले दाबी गरेजस्तो मत नपाउने संकेत भने देखिएको छ।
प्रत्यक्षमा १०० सिट जित्ने दाबी गरेको नेकपा एमालेका नेताहरु प्रारम्भिक मत गणनामा पछाडि परेका छन्।
काठमाडौं- ५ मा उम्मेदवार रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोरखेल कांग्रेस उम्मेदवारभन्दा पछि परेका छन्। पौडेलले २१० मत पाउँदा पोखरेलले १८९ मत पाएका छन्
रूपन्देही-२ बाट उम्मेदवार बनेका उपाध्यक्ष विष्णु पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलभन्दा पछि परेका छन्। गणेशले १२६ मत ल्याउँदा विष्णुले ८३ मत पाएका छन्।
अर्का उपाध्यक्ष सुवास नेम्वाङ पनि पछि परेका छन्। इलाम- २ बाट उम्मेदवार बनेका उनी कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काभन्दा पछि परेका छन्। खड्काले ३४२ मत पाएका छन् भने, नेम्वाङले २७६ मत पाएका छन्।
चितवन- १ बाट उम्मेदवार बनेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि पछि परेका छन्। त्यहाँ विश्व पौडेलले ७०४ मतसहित अग्रता लिँदा तेस्रो स्थानमा रहेका पाण्डेले ४९८ मत पाएका छन्।
दाङ- २ मा उम्मेदवार रहेका महासचिव शंकर पोखरेल पनि पछाडि रहेका छन्। त्यहाँ माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १४५० मत सहित अग्रता लिँदा पोखरेलले भने ८४६ मत मात्रै पाएका छन्।
सचिवद्वय छविलाल विश्वकर्माले रुपन्देही- १मा र टोपबहादुर रायमाझीले अर्घाखाँचीमा अग्रता लिएका छन्।
उल्लेखित विवरणहरु प्रारम्भिक मत गणनाका अपडेटहरु मात्रै हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिवहरु प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, लेखराख भट्ट, रघुवीर महासेठ लगायतका उम्मेदवारहरुको मत विवरण भने उपलब्ध हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।