मुस्ताङ– मुस्ताङमा मतगणना सुरु भएको छ। बिहान ३:३५ बजे सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले ५३७ मत, नेकपा(एमाले)का उम्मेदवारले ४२१ मत, रास्वपाका उम्मेदवारले १२ मत र राप्रपा नेपालका उम्मेदवारले २ मत प्राप्त गरेका छन्। ११ मत बदर भएको छ।
यसअघि मुस्ताङका एक अस्थायीसहित ४० वटै मतदान केन्द्रका मतपेटिका सोमबार बिहान १ बजे जिल्ला आइसकेको थियो। त्यसलगत्तै सर्वदलीय बैठक बसेर मतगणनाकार्य अघि बढाइएको हो।
मतगणनामा उम्मेदवार र दलका एक/एक जना प्रतिनिधि गणनास्थलमा बस्न पाउने व्यवस्था गरिएको हो। मुस्ताङको ३९ मतदान केन्द्रमा १०,९५७ मतदातामध्ये ७,२३० मत अर्थात ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो।
मतगणनामा अन्तर पालिका मतपेटिका मिश्रित गरी मतगणना सुरु गरिएको हो। सुरुआती चरणमा लोमान्थाङ गापा –५ लोमान्थाङ, लोघेकर दामोदरकुण्ड–१ मराङ, घरपझोङ–१ चिमाङ र थासाङ–३ लेतेको मतपेटिका बाकसको मत गणना सुरु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।