काठमाडौं– काठमाडौंका सबै निर्वाचन क्षेत्रमा सोमबार बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। क्षेत्र नम्बर ७ मा आइतबार राति नै मतगणना सुरु भइसके पनि अन्य ९ वटा निर्वाचन क्षेत्रमा बिहानदेखि मतगणना सुरु गर्ने तयारी गरिएको हो।
काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए।
काठमाडौं क्षेत्र नम्बर १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा मावि, क्षेत्र नम्बर ४ को बुढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवन र क्षेत्र नम्बर ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा हुनेछ।
निर्वाचन क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थली, क्षेत्र नम्बर ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नम्बर ९ को रविभवनस्थित न्याथम कलेज र क्षेत्र नम्बर १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गरिनेछ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को मत गणना सुरु गरिसकिएको छ। निर्वाचन अधिकृत उषा श्रेष्ठले ४ स्थानमा मतगणना सुरु गरिएको जानकारी दिइन्। प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।