काठमाडौं– काठमाडौंका दुई निर्वाचन क्षेत्रमा राति १० बजेदेखि देखि मतगणना गर्ने सहमति भएको छ। मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाका अनुसार क्षेत्र नम्बर १ र ४ मा मतगणना गर्ने सहमति भएको हो।
सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलीय बैठकबाटसमेत सहमति जुटेकाले काठमाडौंको उक्त दुई क्षेत्रको मत गणनाको तयारी भइरहेको उनले बताए।
कम्तिमा चार स्थानमा मतगणना गर्ने अनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ मतगणना सुरु गरिने तयारी रहेको छ। कम मत भएकाले सोमबार बेलुकासम्म नतिजा नै सार्वजनिक हुने उनले बताए।
काठमाडौं–१ को मतगणना संघीय संसद् भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा गरिने छ। काठमाडौं–४ को गणना बुढानीलकण्ठस्थित जेष्ठ नागरिक आश्रममा हुने छ।
काठमाडौंका अन्य क्षेत्रको मतपेटिका संकलन सकिएको र सर्वदलीय बैठक चलिरहेकाले त्यसले गर्ने निर्णयका आधारमा मतगणना हुने छ। काठमाडौं–३ मा भने सोमबार बिहानबाट मत गणना गर्ने सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।