काठमाडौं- आइतबार सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ६१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। आइतबार साँझ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अन्तिम विवरणमा केही प्रतिशत बढ्न सक्ने बताए।
'यो संख्या सम्पूर्ण विवरण प्राप्त भइसकेपछि केही प्रतिशत बृद्धि हुन सक्छ भन्ने आयोगको अनुमान छ। यो आयोगको अपेक्षा भन्दा कमी हो भन्ने हामीलाई लागेको छ', उनले भने।
आइतबार बिहान मात्रै थपलियाबाट ७० प्रतिशत मत खस्ने प्रक्षेपण सार्वजनिक भएको थियो। तर, साँझ उनकै अभिव्यक्तिले सो प्रतिशत नपुग्ने प्रष्ट भएको छ।
खसेको मत प्रतिशत ६१ प्रतिशत नै कायम रहने हो भने, २०४८ यताका सबै संसदीय निर्वाचनभन्दा कमजोर सहभागिता हुनेछ। यसअघि सबैभन्दा कम २०६४ मा ६१.७ र २०५१ मा ६१.८६ प्रतिशत मत खसेको थियो।
२०७४ मा प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन भएको थियो। जसमध्ये प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६८.६७ मत खसेको थियो। सो निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ मतदाता कायम भएकोमा १ करोड ५ हजार ९४ हजार ४४ मत खसेको थियो। जुन ६८.६७ प्रतिशत हो।
२०६४ र २०७० मा प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि निर्वाचन भएको थियो। ती दुवै निर्वाचन संविधान सभाका लागि भएको थियो। रोचकचाहिँ के छ भने, २०६४ मा भन्दा २०७० मा मतदाता कम थिए। तर खसेको मत प्रतिशत बढी थियो।
पहिलो संविधान सभा निर्वाचन- २०६४ मा भने ६१. ७ प्रतिशत मत खसेको थियो। सो निर्वाचनमा १ करोड ७६ लाख ११ हजार ८३२ मतदाता रहेकोमा १ करोड ०८ लाख ६६ हजार १३१ मत खसेको थियो।
दोस्रो संविधान सभा निर्वाचन- २०७० मा भने १ करोड २१ लाख ४७ हजार ८६५ मतदाता रहेकोमा ९५ लाख १६ हजार ७३४ मत खसेको थियो। जुन ७८.७४ प्रतिशत हो।
बहुदलकालका सुरुवाती तीन चुनावमा खसेको मत प्रतिशत उस्तैउस्तै थियो।
२०४८ को निर्वाचनमा १ करोड ११ लाख ९१ हजार ७७७ मतदाता थिए। जसमध्ये ७२ लाख ९१ हजार ८४ जनाले मतदान गरेका थिए। जुन ६५.१५ प्रतिशत हो।
२०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा खसेको मत प्रतिशत केही कम भएको थियो। त्यतिबेला १ करोड २३ लाख २७ हजार ३२९ मतदाता थिए। जसमध्ये ७६ लाख २५ हजार ३४८ अर्थात् ६१.८६ प्रतिशत मत खसेको थियो।
२०५६ मा आइपुग्दा खसेको मत प्रतिशत पुनः बढ्यो र २०४८ भन्दा बढी पुग्यो। त्यतिबेला १ करोड ३५ लाख १८ हजार ८३९ मतदाता रहेकोमा ८८ लाख ९४ हजार ५६६ ले मत खसालेका थिए। जुन ६५.७९ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।