काठमाडौं– आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका क्रममा राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो दृष्टिकोणबाट अनुगमन गरेको छ।
निर्वाचनमा निष्पक्ष, स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनिश्चितताका लागि गरिएको अनुगमनमा मानव अधिकार आयोगलगायत मानव अधिकारसँगसम्बन्धित अन्य संवैधानिक आयोगका पदाधिकारीहरु, आयोगका पदाधिकारीहरु र कर्मचारी सम्मिलित ४२ वटा टोली अनुगमनमा खटिएका थिए।
अनुगमनबाट प्राप्त तथ्याक अनुसार झापा, सुनसरी पाँचथर, सुर्खेत, कैलालीलगायतका जिल्लाहरूमा बम विष्फोटका केही घटनाहरू भएको पाइएको छ। यस्तै कैलाली, कञ्चनपुर, मोरङ, दैलेख, डोटी, अछामलगायतका जिल्लाका केही मतदानस्थल नजिकै विष्फोटक पदार्थ भेटिएको र हुम्ला, दार्चुला, बाजुरा, दोलखा, रौतहट, सिरहा र चितवन लगायतका जिल्लाहरुमा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा केही व्यक्ति घाइते भएको आयोगले जनाएको छ।
यी जिल्लामा झडप नियन्त्रण गर्न सुरक्षाकर्मीद्वारा हवाइफायरसमेत भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ तारेबराह आधारभूत विद्यालय सम्ले मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मत खसाल्ने क्रममा मतपेटिका फुटाएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ।
यस्तै हुम्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई हत्कडी नखोली मतदान गराइएको आयोगको अनुगमनमा पाइएको छ। पाल्पा, रामेछाप, भोजपुर लगायतका जिल्लाका कतिपय मतदान केन्द्रमा चार/पाँच घण्टा पैदल हिँडेर मतदानको लागि जानुपर्ने र जिल्ला प्रशासन कार्यालयबाट सवारी पास वितरणमा कडाइ गरेका कारण अशक्त, अपाङ्गता भएका मतदाताहरुलाई मतदानस्थलसम्म पुर्याउन र घर फर्कनको लागि समस्या भएको आयोगको अनुगमनमा देखिएको छ।
यस्तै दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्रु र तिङ्कर क्षेत्रका मतदाताले पाँच दिनको बाटो हिँडेर जिल्ला सदरमुकाम खलंगास्थित मोती महिला संघको मतदान केन्द्रबाट मतदान गरेको आयोगले जनाएको छ।
प्यूठानको स्वर्गद्वारी स्वास्थ्य चौकीमा कार्यरत सात कर्मचारीमध्ये छ जनालाई निर्वाचनमा खटाउँदा स्वास्थ्य सेवा बन्द भएको पाइएको छ। देशभरका धेरै मतदान केन्द्रहरु अपाङ्गमैत्री नभएको पाइएको आयोगले जनाएको छ।
त्यसैगरी, म्यादी प्रहरी तथा देशभर रहेका कैदीबन्दीहरुमध्ये अधिकांशले मताधिकारको प्रयोग गर्न नपाएको आयोगको अनुगमनमा पाइएको छ। मतदाता शिक्षाको अभाव र निर्वाचनमा खटिएका कर्मचारीलाई पर्याप्त अभिमुखीकरण नभएका कारण मतदानमा अन्योलता रहेको पाइएको आयोगले जनाएको छ।
यस्तै संखुसवासभाको एक मतदान केन्द्रमा प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा पर्नेमा प्रदेशसभाको मतपत्र मात्रै दिइएको, पाल्पाको एक मतदान केन्द्रमा प्रदेश सभाको मतपत्र खसाल्ने ठाउँमा प्रतिनिधि सभाको मतपेटिका राखिएको र यस प्रकारका समस्या दाङ, झापा, ललितपुरलगायतका जिल्लाका केही मतदान केन्द्रमासमेत देखिएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।