काठमाडौं- श्री ३ महाराज पद्म शमशेर राणाको पालामा २००४ मा नेपालमा पहिलो पटक निर्वाचन भएको थियो। २००४ जेठ ३ गतेको घोषणाबाट सोही महिनाको २९ गते काठमाडौँका सहरी क्षेत्रका जनताले आफ्नो प्रतिनिधि आफैं छान्नका लागि मताधिकारको प्रयोग गरेका थिए। 'काठमाडौँ म्युनिसिपलिटी निर्वाचन' बाट परिचित सो निर्वाचनदेखि प्रतिनिधि सभा निर्वाचन- २०७९ सम्म अनवरत मतदान गरिरहेका व्यक्ति हुन्, हिमालय शमशेर राणा।
मंसिर ४ गते आइतबार भएको चुनावमा ९७ वर्षीय यिनै राणा स्वास्थ्य प्रतिकूलताका बाबजुद मतदान केन्द्र पुगे। उनले बिहान ११:३० मा बबर महलस्थित भीएस निकेतनको मतदान केन्द्रबाट मतदान गरेका थिए।
मतदान गर्ने क्रममा नेपाल लाइभका लागि राजेन्द्र कुँवरले उनीसँग कुरा गरेका थिए, त्यसको रिपोर्ट यस प्रकार रहेको छः
हिमालय शमशेर नेपालको पहिलो गर्भनर हुन्। उनी २०४८ सालदेखि निर्वाचन पर्यवेक्षकको रूपमा सक्रिय छन्। अन्य देशको तुलनामा नेपालमा चुनाव शान्त हुने गरेको भन्दै उनले खुसी व्यक्त गरेका छन्। २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्था ‘कू’ गरेपछि उनले लामो समय संयुक्त राष्ट्र संघ (युएन) मा आवद्ध भएर काम गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।