काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्ष पशुपति मुरारकाले आर्थिक समृद्धिबिना देश अगाडि बढ्न नसक्ने भन्दै अब बन्ने सरकारले देशको आर्थिक उन्नतिमा ठोस् कदम उठाओस् भन्ने सुझाव दिएका छन्।
आइतबार बिहान निर्वाचनका लागि बबरमहलस्थित भीएस निकेतन पुगेका मुरारकाले नेपाल लाइभसँगको कुराकानीमा भने, ‘सबै राजनीतिक पार्टीले आफ्नो घोषणापत्रमा आर्थिक उन्नतिको कुरा उठाएका छन्। तर, त्यो व्यवहारमा लागू हुनुपर्यो।’
उनले वर्तमान अवस्थामा कुनै एक पार्टीले सरकार बनाउने सम्भावना नरहेको विश्लेषण गरे। मिलिजुली सरकार बन्दा आर्थिक विकासको पाटो कमजोर बनेको भन्दै उनले भने, ‘जसले सरकार बनाए पनि कम्तिमा ५ वर्ष टिक्नुपर्यो। र, सरकारले आर्थिक विकासको लक्ष्यलाई प्रमुखतामा राख्नु पर्यो।’
उनले चुनाव शान्तिपूर्ण भएकोमा खुसी व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।