काठमाडौं– गृह सचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको दाबी गरेका छन्।
आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको दाबी गरेका हुन्। उनले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको पाएको बताए।
गृह सचिव सिंहले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसकेको जानकारी दिए।
उनले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाता र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको दाबी गरे। उनले मतपेटीका ढुवानीका लागि आवश्यकता अनुसारका सवारी साधन तैनाथ राखिएको पनि बताए।
‘शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको हामीले पाइरहेका छौँ। मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन हामीले व्यवस्था गरिरहेका छौँ’, उनले भने, ‘निर्वाचन सामग्री, निर्वाचन कर्मचारी र मतदाता र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक क्षति पुगेको छैन। हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौँ।
४६ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ। मतपेटीका ढुवानीका लागि आवश्यकता अनुसारका सवारी साधन तैनाथ राखिएको छ।’
सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरूको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गरेको थियो। निरीक्षणका क्रममा मतदानस्थलमा मतदाताले उत्साहितत तबरबाट मतदान गरिरहेको पाएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।