काठमाडौं– सिन्धुपाल्चोक जिल्लामा १२ वजेसम्म २७.९२ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म निर्वाचन शान्तिपूर्ण भइरहेको छ।
हालसम्म कुनैपनि निर्वाचन क्षेत्रमा झडप वा स्थगित नभएको निर्वाचन कार्यालयले जनाएको छ।
सिन्धुपाल्चोकमा प्रतिनिधि सभातर्फ २ निर्वाचन क्षेत्र छन् । प्रदेश सभातर्फ ४ क्षेत्र रहेका छन् । प्रतिनिधि सभातर्फ क्षेत्र –१ म माधव सापकोटा र सुरेश नेपालसहितका उम्मेदवार रहेका छन्। त्यस्तै क्षेत्र नम्बर २ मा मोहन बस्नेत र शेरबहादुर तामाङ उपस्थित छन्।
देशभरी नै भइरहेको मतदानबाट १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक गरी २७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन् ।
त्यस्तै प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक गरी ५५० जना निर्वाचित हुनेछन् । निर्वाचन सकिएर मतपेटिका सङ्कलन हुनेबित्तिकै मतगणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको गणना सक्ने निर्वाचन आयोगको तयारी छ।
आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६१ र समानुपातिकतर्फ ४७ राजनीतिक दलले भाग लिँदैछन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई हजार १८७ पुरुष र २२५ जना महिला गरी दुई हजार ४१२ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन्।
८८ लाख ४७ हजार ५७९ जना महिला तथा ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ जना अन्य समूहका मतदाता छन्। आयोगका अनुसार मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र तोकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।