काठमाडौं– झापा निर्वाचन क्षेत्र नम्बर १ को मेचीनगर–१४ मा रहेको सुबोधनी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा प्रतिनिधि सभाको मतपत्र दिनुपर्ने ठाउँमा प्रदेश सभाको मतपत्र दिइएको पाइएको छ।
करिब १० वटाजति मतपत्र खसालिएको अवस्थामा मतदाताले प्रतिनिधि सभार्फ रुख चिह्न नै नभएको बताएपछि निर्वाचन अधिकृतले जाँच गरेका थिए।
जाँचका क्रममा रुख चिह्न नभएको मतपत्र नभइ प्रतिनिधि सभाको दिनुपर्ने ठाउँमा प्रदेश सभातर्फको मतपत्र दिइएको निर्वाचन अधिकृत टंक महतले जानकारी दिए।
नेपाललाइभसँग कुरा गर्दै उनले भने, ‘रुख चिह्न नै नभएको मतपत्र पाइएको भन्ने कुरा सत्य होइन। प्रतिनिधि सभाको दिनुपर्ने ठाउँमा प्रदेश सभाको दिइएको रहेछ।’
उनले प्रतिनिधि सभाका लागि छाप लगाइएका मतपत्र बदर हुने बताए। साथै त्यस्तो मतपत्रमा मतदान गर्ने मतदातालाई पुन: प्रतिनिधि सभाको मतपत्र दिइने बताए।
‘अब ती मतपत्र त बदर भइहाल्छन् नि। उनीहरुलाई प्रतिनिधि सभाका लागि मतदान गर्न फेरि दिइनेछ। अहिले सामान्य स्थितिमै मतदान भइरहेको छ,’ उनले भने।
उक्त क्षेत्रमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन्। प्रदेश सभातर्फ भने कांग्रेसको उम्मेदवार छैनन्।
प्रदेशतर्फ कांग्रेसको उम्मेदवार नभएको र प्रतिनिधि सभाको मतपत्र दिनुपर्नै ठाउँमा प्रदेश सभाको दिइएपछि मतदाताले कांग्रेसको चिह्न नै नभएको भन्दै आक्रोश पोखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।