गुल्मी– गुल्मी जिल्लाको मालिका गाउँपालिका–५ को छापहिले माध्यमिक विद्यालयको (क) मतदान केन्द्रमा रोकिएको मतदान सुचारु भएको छ। प्रतिनिधि सभा निर्वाचको मतपत्र दिने क्रममा प्रदेश सभाको मतपत्र दिएको पाइएपछि मतदान करिब २ घण्टा रोकिएको थियो।
सर्वदलीय सहमतिपछि मतदान पुनः सुरु भएको हो। उक्त केन्द्रमा खसेका ५४ वटा मतलाई बदर गर्दै पुनः मतदान सुचारु भएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए।
मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हटाइएको छ। मतदान गरेका ५४ जना मतदाताले पुनः प्रतिनिधि सभाको मत दिन पाउने भएका छन्।
जिल्लाका अन्य स्थानमा भने शान्तिपूर्ण मतदान चलिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन्। जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।