काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन्। उनले गृहजिल्ला रौतहट- १ स्थित रामजानकी कन्या आधारभूत माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
मतदानपछि उनले जनताले पाएको सार्वभौम अधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरे। उनले मौन अवधिको बेलामा आचारसंहिताको उल्लंघन भएको भन्दै यसलाई आयोगले आवश्यक कारबाही गर्नुपर्ने बताए।
उनले सरकारले निर्वाचनका विकृतिलाई रोक्न कडाई गर्न आवश्यक रहेको बताए। ‘खासगरी निर्वाचनमा देखापरेको विकृतिहरुको बारेमा खबर धेरै सुनेको छु। रातभर पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरु हिँडेको सुनियो’, उनले भने, ‘खासगरी प्रमुख विपक्षीको रुपमा रहेको पार्टीका उम्मेदवारहरुले आचारसंहिताको चरम उल्लंघन गरेको भन्ने सुनेँ। राति मोटरसाइकलमा पैसा बाँड्दै हिँडेको, ठाउँठाउँमा फेला पनि परेको सुन्नमा पनि आएको छ। यी विकृतिहरुलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा धेरै कडाइ गर्नुपर्ने आवश्यकता छ।’
एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।