काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चाबहिल महांकालको पानीट्यांकी मतदान केन्द्रमा मतदान गरेका छन्।
मतदानका लागि उनी आइतबार बिहान ७ बज्नुअघि नै मतदानस्थल पुगेका थिए। मतदानपछि मतदानस्थलमा प्रतिक्रिया दिँदै उनले आफ्नो निर्वाचन क्षेत्र पनि रहेको चिवतन प्रस्थान गर्न लागेको बताए।
लामिछाने नेतृत्वको पार्टीले प्रदेश सभातर्फ उम्मेदवार उठाएको छैन। उनले आफूले असहमतिको अधिकार प्रयोग गरेको बताए। प्रदेशमा खाली मतपत्र हाल्नुभयो होइन? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘प्रदेशमा हाम्रो उम्मेदवारी नै छैन।’
प्रदेश सभा निर्वाचनमा आफूहरु सहभागी नभएको र त्यसको संरचनाप्रति आफूहरुको प्रश्न रहेको उनले बताए। ‘खारेजीको कुरा गरेका छैनौँ। सुधार गरौँ,’ उनले भने, ‘हामीले सोचेजस्तो कम खर्चिलो र डुब्लिकेसन नभएको र साँच्चै नै देश र जनताको हितमा भएछ भने सहभागी होउँला। उम्मेदवार उठाउँला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।