काठमाडौं– प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहेका प्रमुख पार्टीका शीर्ष नेतादेखि केही चर्चित उम्मेदवारले भने आफैंलाई मतदान गर्न नपाउने भएका छन्।
आफ्नो मतदाता नामावली रहेको क्षेत्रभन्दा अलग क्षेत्रबाट उम्मेदवारी दिएका केही शीर्ष नेताहरुले आफैंलाई मतदान गर्न नपाउने भएका हुन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा- ५ बाट उम्मेदवार भएका छन्। तर, उनको मतदाता नामावली भक्तपुरमा छ। ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका- २ स्थित महेन्द्र शान्ति मावि ‘क’ बाट मतदान गर्दै आएका छन्। तसर्थ उनले आफैंलाई मत दिन पाउने छैनन्।
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफूलाई मत दिन पाउने छैनन्। उनको नामावली चितवनको भरतपुर महानगरपालिका- १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरमा छ। उनी भने गोरखा- २ बाट उम्मेदवार भएका छन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन- ३ बाट उम्मेदवार भएका उनी यसपटक गोरखा- २ बाट उम्मेदवार भएका हुन्। मतदानका लागि मतदानका लागि शनिबार नै चितवन पुगिसकेका छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ- १ बाट उम्मेदवार भएका छन्। तर उनी रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका- ९ का मतदाता हुन्। उनी २०७४ मा उम्मेदवार बनेका थिएनन्। यसपटक पुनः उम्मेदवार बनेका हुन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी- २ का उम्मेदवार हुन्। २०७४ मा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए। तर उनी आफैंले आफूलाई मत दिन पाउने छैनन्। किनकि उनी मोरङको विराटनगर महानगरपालिका- १४ स्थित डिग्री क्याम्पसका मतदाता हुन्।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर महोत्तरी- ३ का उम्मेदवार हुन्। उनी २०७४ मा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। तर उनले पनि आफैंलाई मतदान गर्न पाउने छैनन्। उनी सर्लाहीका मतदाता हुन्।
पूर्वसभामुख तथा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य ओनसरी घर्तीले पनि आफूलाई मत दिन पाउने छैनन्। उनी काठमाडौं- २ को उम्मेदवार हुन्। तर उनी रोल्पाको रोल्पा नगरपालिका- ७ स्थित बाल उदय माध्यमिक विद्यालय, माडीचौरको मतदाता हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन- २ का उम्मेदवार हुन्। तर उनले पनि आफैंलाई मत दिन पाउने छैनन्। उनी काठमाडौं– ३ का मतदाता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।