काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभामा नयाँ सदस्य (सांसद)हरु निर्वाचित गर्न आज (आइतबार) मतदान हुँदैछ। देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जानकारी दिएको छ।
आइतबार हुने निर्वाचनले प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीअन्तर्गत १६५ र समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत ११० गरी २७५ जना सांसदको छिनोफानो गर्नेछ। यस्तै, ७ वटा प्रदेश सभाका प्रत्यक्षतर्फ ३३० र समानुपातिक २२० गरी ५५० सदस्यको छिनोफानो गर्नेछ।
निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्।
देशभरका १० हजार ८९२ मतदान स्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका छन्। यस्तै, १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायकपर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने व्यवस्था मिलाइएको छ।
प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीका लागि २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ।
प्रदेश सभातर्फ पहिलो हुने निर्वाचिन हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीका लागि ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस्तै, प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ।
प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि कूल ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९०७ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख ५ हजार गरी कूल ८ करोड ५ लाख ६७ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।