काठमाडौं– पश्चिम नवलपरासीमा मादक पदार्थ सेवन गरी आचरणविपरीतको काम गर्ने थप एक जना मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ।
मतदान केन्द्रको तयारीमा खट्नुपर्नेमा बर्दघाट–१३ मा रहेको दुर्गा आधारभूत माविमा खटिएका मतदान अधिकृत श्याममणिप्रसाद मण्डल दिउँसो मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा निदाएका थिए।
उनलाई तत्काल जिम्मेवारीबाट हटाई आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
मण्डल सहायक वन अधिकृत हुन्। उनको स्थानमा वैकल्पिक व्यवस्था गरी कर्मचारी खटाइएको छ।
दुई दिन अगाडि निर्वाचन सामग्री बुझ्ने दिन पनि एक जना मतदान अधिकृत मादक पदार्थ सेवन गरी निर्वाचन अधिकारीसँग झगडा गर्न खोजेपछि जिम्मेवारीबाट हटाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।