काठमाडौं- सरकारले आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ।
गृह मन्त्रालयले निर्वाचनका लागि देशभर आवश्यक तयारी सकिएको र सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताएको हो।
गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाको लागि तैनाथ रहेको बताए।
उनले निर्वाचनलाई अवरोध हुन नदिन सम्पूर्ण निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको बताए। उनले सरकारले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन सबै सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरे।
उनले भने, ‘मतदातालाई बिहान ७ बजेदेखि ५ बजेसम्म देशभरका विभिन्न मतदान केन्द्रमा ढुक्क भएर गर्न आग्रह गर्दछु, ’ उनले भने।
गृह मन्त्रालयले काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप जिल्लाका अति संवेदनशील मतदान केन्द्रको अवलोकन एवं निरीक्षण गरेको थियो।
आइतबार देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।