काठमाडौं- निर्वाचन आयोगले निर्वाचनमा खटिएका कर्मचारीको स्वास्थ्य सुरक्षा र व्युक्तिगत सुरक्षामा कुनै कसर बाँकी नराख्न गृहमन्त्रालयलाई आग्रह गरेको छ।
निर्वाचनमा खटिएका दुई जना कर्मचारीको निधन भएपछि आयोगले शनिबार शोक विज्ञप्ति जारी गर्र्दै आग्रह गरेको हो।
‘निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्न आयोग नेपाल सरकार गृह मन्त्रालयमार्फत् सम्बद्ध सबै निकायलाई हार्दिक आग्रह गर्दछ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका, वडा नंबर ४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका सर्लाही हरिपुरूवा-६ का बिल्टु रायको शनिबार बिहान सुतिरहेको अवस्थामा मृत्यु भएको थियो।
धनकुटा जिल्ला साँघुरीगढी-३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी धनकुटा साँघुरीगढी-४ कि पवित्रा लिम्बूको मंसिर २ गते बिरामी परी उपचारका क्रममा निधन भएको थियो। यी घटनापश्चात् आयोगले ध्यानाअकार्षण गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।