काठमाडौं– केही अनलाईन सञ्चारमाध्यमको दुरुपयोग गरी झुटो समाचार तयार गरेर आफूहरुबीच फाटो ल्याउन खोजिएको भन्दै सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपत्ति जनाएका छन्।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले शनिबार एक वक्तव्य जारी गर्दै अनलाईन सञ्चारमाध्यमबाट प्रकाशित भनेर ‘फेक न्युज’ बनाइ सामाजिक सञ्जालबाट शेयर गरेको विषयमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका ५ दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् ,’ संयुक्त वक्तव्यमा भनिएको छ।
निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको उनीहरुको भनाइ छ।
‘यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौं। यो दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा शेयर गर्नु निर्वाचन अपराध समेत हो,’ संयुक्त वक्त्वयमा भनिएको छ, ‘यस्तो सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रुपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कार्वाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउछौं।’
वक्तव्यमा यस्तो कार्यमा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि सरकारसँग माग समेत गरिएको छ।
पछिल्लो समय माओवादीका उम्मेदवारलाई भोट नदिन भनेर कांग्रेसले गोप्य सर्कुलर गरेको भन्दै विभिन्न अनलाईन सञ्चारमाध्यमलाई जोडेर सामाजिक सञ्जालमा हल्ला फैलाइएको छ।
नेपालका प्रमुख अनलाई समाचार पोर्टलबाट प्रकाशित समाचार भन्दै सामाजिक सञ्जालमा हल्ला फैलाउन थालिएपछि कांग्रेस र माओवादीले संयुक्त रुपमा विरोध गरेका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पनि उक्त हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विरोध जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।