चामे– हिमाली जिल्ला मनाङमा मुलुककै कम मतदाता छन्। यीमध्ये पनि मनाङका ४ मतदान केन्द्रमा १ सयभन्दा कम मतदाता रहेका छन्।
नार्पाभूमि गाउँपालिकाका ३ मतदान केन्द्र र चामे गाउँपालिकाको एकवटा मतदान केन्द्रमा सयभन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए। मतदान केन्द्र गाभ्दा मतदातालाई मतदान केन्द्रसम्म पुग्न समस्या हुने भएकाले मतदाता कम भए पनि कायमै राखिएको उनको भनाइ छ।
चामे-५ स्थित वडा कार्यालय भवन केन्द्रमा ९६ मतदाता छन्। शर्माका अनुसार नार्पाभूमि-१ नारगाउँस्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा ९६, फु आधारभूत विद्यालय मतदान केन्द्रमा ७८ र नार्पाभूमि-५ फुगाउँस्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा सबैभन्दा कम ७१ मतदाता छन्।
मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा ३ हजार ६८७, चामे गाउँपालिकामा ७७७, नार्पाभूमि गाउँपालिकामा ४६८ र नासों गाउँपालिकामा ३ हजार ६४७ मतदाता छन्।
एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा कूल ६ हजार ७७९ मतदाता छन्। जसमा प्रदेशसभा १ मा २ हजार ६२४ मतदाता र प्रदेशसभा २ मा ४ हजार १५५ मतदाता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।